बाँके-१ मन्त्री अथकको दोस्रो इनिङ, बाँके-२ एक्लिए मन्त्री राई, बाँके-३ राठोरको इन्ट्री

नेपालगन्ज : बाँकेमा आगामी ४ मंसिरको प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचन-२०७९ निकै रोचक हुने भएको छ ।
बाँके क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा ११ र प्रदेशसभा सदस्यमा १७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत यमप्रसाद बास्कोटाले जानकारी दिए । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सत्तागठबन्धन प्रतिनिधिको रुपमा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । मन्त्री अथकका लागि यो दोस्रो इनिङ हो । उनले नेकपा एमालेका केन्द्रीय सदस्य सूर्यप्रसाद ढकालको सामना गर्नुपर्नेछ । त्यसो त, यो क्षेत्रमा ११ जनाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
बाँके १ ‘क’ प्रदेशसभा सदस्यमा सांसद कृष्णा केसी नमूनाको पनि दोस्रो इनिङ नै हो । यो क्षेत्रमा १० जना प्रदेशसभा सदस्यका उम्मेदवार बनेका छन् । बाँके १ ‘ख’ प्रदेशसभा सदस्यमा नेकाका फुलाराम थारु र एमालेका दुर्गाप्रसाद चौधरीसहित ७ जनाको उम्मेदवारी परेको छ ।
सबैभन्दा कडा रोचक भिडन्त भने बाँके क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा हुने भएको छ । जहाँ नेपाल सरकारका यातायात तथा पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईले जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्् । बाँकेबाट तीन पटक मन्त्री बनेका राई सत्तागठबन्धनबाट बाहिरिएका छन् । उनको पार्टीले एमालेसँग अर्को गठबन्धन बनाएको छ । एमालेले यो क्षेत्रमा राप्रपा महामन्त्री डा.धवलशम्शेर राणालाई समर्थन गरेको छ । दुबै गठबन्धनबाट मन्त्री राई एक्लिएका छन् । उनका स्वकीय सचिव शमसुल हक राईले पनि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् । सत्तागठबन्धनको प्रतिनिधिको रुपमा नेकाका सुदीपनरसिंह राणाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट दिवाकर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विनोदकुमार अग्रहरीलगायत १६ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकोे निर्वाचन अधिकृत नुमानन्द खनालले जानकारी दिए ।
बाँके २ ‘क’ प्रदेश सभा सदस्यमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादव (एमाले), राजकुमार कुर्मी (नेका), भण्डारीलाल यादव (जसपा), सहित १२ जना र बाँके २ ‘ख’ प्रदेश सभा सदस्यमा लुम्बिनी प्रदेश सरकारका वनमन्त्री सुरेन्द्र हमाल (नेका), निरकबहादुर गुरुङ (एमाले), अकल बहादुर बम (माओवादी केन्द्र), डा.विनोदकुमार कर्णसहित १२ जनाको उम्मेदवारी परेको छ ।
बाँके क्षेत्र नं. ३ मा नेका सह–महामन्त्री किशोरसिंह राठौरको इन्ट्री भएको छ । उनले सत्तागठबन्धनका साझा उम्मेदवार बनेका छन् । यो क्षेत्रमा किश्मतकुमार कक्षपति (एमाले), देवेन्द्रनाथ शुक्ला (राष्ट्रिय स्वतन्त्र पार्टी) गरी १० जनाकोे प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी परेको निर्वाचन सहायक निर्वाचन अधिकृत लोकबहादुर रावलले बताए ।
सत्तागठबन्धनलाई चुनौती दिँदै नेकपा एकीकृत समाजवादीका नेता तथा नेपाल सरकारका पूर्वमन्त्री दलबहादुुर सुनारले बाँके क्षेत्र नं. ३ ‘क’ प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । उनको पार्टीका युवा संघका केन्द्रीय महासचिव दीपककुमार गौरी मगरले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा माओवादी केन्द्रबाट इन्द्रप्रसाद खरेलको दोस्रो इनिङ हो भने एमाले बाँकेका सचिव रत्न खत्री पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् । यो क्षेत्रमा ९ जनाको उम्मेदवारी परेको छ । बाँके क्षेत्र नं. ३ ‘ख’ प्रदेश सभा सदस्यमा संविधानसभा सदस्य वादशाह कुर्मी (नेका), भीमबहादुर ओली (एमाले)सहित १२ जनाको उम्मेदवारी परेको छ ।