बेमौैसमी वर्षाबाट बाँके र बर्दियामा २ वर्षमा १ अर्ब बढीको धान क्षति

शंकरप्रसाद खनाल । नेपालगन्ज
बाँके र बर्दियामा गत वर्ष र यो वर्षकोे बेमौसमी वर्षाबाट एक अर्बभन्दा बढीको क्षति भएको छ । गत वर्ष मात्र बर्दियामा झन्डै ५८ करोड र बाँकेमा झन्डै ३९ करोडको धान बालीमा क्षति भएकोे थियो । यो वर्षको क्षतिको विवरण आउन बाँकी नै छ ।
बाँकेको नरैनापुर गाउँपालिकामा गत वर्ष ५ हजार ४५६ बिघामा लगाइको धान बाली बेमौसमी वर्षाबाट नष्ट भयो । जसबाट ७ हजार ५६८ घरधुरी प्रभावित भए । २०७८ को असोज ३१ देखि कार्तिक ३ गतेसम्म अविरल परेको मुसलधारे पानीबाट काटेर खेतमै सुकाइएको धान भिज्यो । यो क्षतिबाट गाउँपालिकामा ५ करोड ७८ लाख ३० हजार २७५ रुपैयाँ बराबरको धानबाली नष्ट भएको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले सरकारलाई राहातका लागि पठायो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नरैनापुरका लागि ३ करोड ७० लाख ११ हजार ३७६ कम रकम अर्थात २ करोड ८ लाख १८ हजार ८९९ रुपैयाँ मात्र पठायो । त्यो रकम पनि वितरण गरेको दुई साता मात्र भएको छ । बैंकको खाता नम्बर नमिल्दा त्यो रकम पनि सबैले बुझिसकेका छैनन् । अघिल्लो वर्ष धान भित्र्याउन नपाउँदै बेमौसमी वर्षाले नरैनापुरका किसान मारमा परेका थिए । यो वर्ष समयमै वर्षा नहुँदा नरैनापुरमा १५ प्रतिशत मात्र रोपाइँ भयो । ८५ प्रतिशत धान खेत बाँझै भए । धान पाकेर भित्र्याउने बेला नआउँदै किसानलाई खाद्य संकट सुरु भइसकेको गाउँपालिकाले भनिरहेको छ । नरैनापुरलाई जिल्ला विपद् व्यवस्थापन समितिले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर संघीय र प्रदेश सरकारसँग राहात मागेको छ । केही दिनअघि संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माले नरैनापुर क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । उनले तत्कालका लागि राहातका लागि पहल गर्ने आश्वासन दिएका थिए । तर सरकारी राहात अहिलेसम्म नरैनापुर पुगिसकेको छैन ।
गत वर्षको बेमौसमी वर्षाबाट नरैनापुर मात्र होइन बाँकेका ८ वटै स्थानीय तहका किसान मारमा परे जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार जिल्ला भरी ३९ हजार ४५२ किसानका घरधुरी यो बेमौसमी वर्षाको मारमा परे । जिल्लाभरी ३८ करोड ७८ लाख ६० हजार ६०८ रुपैयाँ बराबरको रकम राहातका लागि माग गरियो तर जिल्लालाई १० करोड रुपैयाँ मात्र आयो । किसानको क्षतिलाई विश्लेषण गरेर कूल क्षतिको ३६ प्रतिशत मात्र वितरण गरिएको छ । जिल्लाका नरैनापुर, डुडुवा, नेपालगन्ज, खजुरा र जानकीमा राहात रकम वितरण गरिएको छ । किसानको खाता अपडेट नभएकाले वितरण गरिएका पालिकामा हरेकमा डेढदेखि दुई सय जनाको रकम जम्मा नभएको जिल्ला प्रशासन कार्यालय बाँकेका लेखापाल विश्वप्रसाद ढकालले बताए । क्षतिको अनुपातमा यो राहात निकै न्यून हो ।
राप्तीसोनारी, कोहलपुर र बैजनाथ गाउँपालिकाले राहात पाउने किसानको बैंक खातासहितको विवरण पेश नगरेका कारण राहात पाउन सकेका छैनन् । जिल्ला प्रशासनले सकेसम्म दशैं अघि नै राहात उपलब्ध गराउने गरी विवरण बुझाउन स्थानीय तहसँग आग्रह गरेका छन् ।
एक जना किसानले प्रति कठ्ठा १९२ रुपैयाँका दरले कम्तीमा ५०० रुपैयाँदेखि बढीमा झन्डै २० हजार रुपैयाँको हाराहारीमा मात्र राहात पाएका छन् । नेपाल सरकारको धान किसानलाई राहात वितरण सम्बन्धी कार्य विधिले नै एक जना किसानलाई ५५ हजार रुपैयाँभन्दा बढी दिन नमिल्ने व्यवस्था गरेको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका निवर्तमान प्रमुख सागर ढकाल जलवायु परिवर्तनका कारण बेमौसमी वर्षा हुँदा किसान मारमा परेको बताएका थिए । उनी यो वर्ष जिल्लामा १० प्रतिशत किसानले रोपाइँ नै गर्न नपाएको बताउँछन् । ‘जिल्लामा धान उत्पादनमा कम्तीमा पनि १० प्रतिशत त ह्रास आउने नै भयो । असोजको पहिलो सातामा भइरहेको बेमौसमी वर्षाले पनि पाकिरहेको धान बालीलाई हानी गर्छ । धेरैदिन लगातार पानी परेमा बोटमै धान उम्रिने र ढलेको धान पनि उम्रिने खतरा हुन्छ’, उनले भने, ‘गत वर्षको बेमौसमी वर्षालाई आधार मान्ने हो भने त अझै खतरा टरिसकेको छैन ।’ नरैनापुरमा वैैकल्पिक खेती गरिरहेका किसान असोज महिनाको बेमौसमी वर्षाबाट पीडित बनेका छन् । केही किसानले आलु खेती गरेका थिए । खेतमा पानी जमेर रोपिएको आलु खेतमै कुहिएको छ ।
अन्नको भण्डार भनेर चिनिने बर्दिया जिल्ला पनि जलवायु परिवर्तनको मारबाट अछुतो हुन सकेको छैन । गत वर्षको बेमौसमी वर्षाले जिल्लाका ८ स्थानीय तहमा जिल्ला विपद् व्यवस्थापन समितिले ५७ करोड ९६ लाख ७९ हजार ६४४ रुपैयाँ बराबरको राहात माग ग¥यो । जिल्ला प्रशासन कार्यालय बर्दियाका लेखा फाँटका जयराम थारुका अनुसार ठाकुरबाबा नगरपालिकाका लागि मात्र २ करोड रुपैयाँ आयो । सो रकम वितरण पनि भइसक्यो । अन्य सात स्थानीय तहका लागि ५५ करोड ९६ लाख ७९ हजार ६४४ रुपैयाँ त निकासा नै भएको छैन ।
राजापुर क्षेत्रमा त काटेर खेतमै सुकाइएको धान कर्णाली नदीले बगाएको थियो । यो वर्ष पनि बेमौसमी वर्षाले राजापुर क्षेत्रको धान खेती डुबाएको थियो । कर्णाली नदीको भेल राजापुर नगरपालिकाका विभिन्न वडामा पसेको थियो । क्षतिको विवरण भने अझैै प्राप्त नभएको कृषि ज्ञान केन्द्र बर्दियाका योजना शाखाका सन्तोष पाठकले बताए । उनी भन्छन्, ‘जलवायु परिवर्तनको असर केही वर्ष यता धान बालीमा परिरहेको छ । अब किसानले जलवायु अनुकूलन अनुसारको धानको प्रजाति लगाउनु पर्छ’, उनले प्रष्ट पारे, ‘जलवायु परिवर्तनले वर्षा प्रणाली परिवर्तन हुँदा वर्षाको पानीले कम क्षति हुने, छिटो पाक्ने प्रजातिको धान लगाउनु पर्छ ।’ उनले धान बाली नष्ट हुने मात्र नभएर जलवायु परिवर्तनका कारण किरा र रोगको प्रकोप पनि नयाँ नयाँ आउन थालेको अर्थाथता दर्शाए । ‘विषादी छर्कँदा पनि किटाणु नै नमर्ने भइसके । नयाँ नयाँ किरा र रोग देखा पर्न थालेका छन् । यो पनि जलवायु परिवर्तनकै असर हो ।’ उनले उदाहरणको रुपमा मकै बालीमा फौजी किराको प्रकोपको छ ।
वार्षिक वर्षा चक्रमा हेरफेर हुने, अतिवृृष्टि, अनावृष्टि, तापक्रममा घटबढ हुने, लामो समय खडेरी पर्ने कुरा जलवायु परिवर्तनका कारण हुन्छ । यसका कारण बाली छिटो पाक्ने तर कम पौष्टिक तत्व भएका हुन्छन् । त्यसैले किसानले जलवायु अनुकूलनको कृषि प्रणालीलाई आत्मसात गर्न कृषि विज्ञको सुझाव रहेको छ ।
यो वर्ष असोज १९–२४ सम्म आएको अविरल वर्षाले पनि बाँकेमा धान बालीमा क्षति पु¥याएको छ । कृषि ज्ञान केन्द्र बाँकेका निमित्त कार्यालय प्रमुख सकील अहमद जिल्लाको ८ वटै स्थानीय तहमा ७ हजार ४६० हेक्टरमा लगाएको धान बाढीको डुबान र कटानमा परेको बताए । अहमद भन्छन्, ‘काटेर खेतमा सुकाएको, पाकेर काट्न ठीक्क पारेको धान बाढीमा परेको छ । पाकेको धान बालामै उम्रिएको छ । क्षतिको एकिन तथ्याङ्क आउन अझैं केही दिन लाग्नेछ ।’ जिल्लाका आठ वटै स्थानीय तहमा विस्तृत घरधुरी सर्वेक्षण भइरहेको छ । स्थानीय पालिकाको नेतृत्वमा नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीले घरधुरी सर्वेक्षण गरिरहेका छन् । सर्वेक्षणको सम्पूर्ण तथ्याङ्क संकलन भइसकेपछि मात्र क्षतिको पूर्ण जानकारी आउने जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । बर्दिया जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा यो असोजमा एकसातासम्म परेको अविरल वर्षाबाट क्षति भएको छ । क्षतिको पूर्ण विवरण भने आइनसकेको स्थानीय तहले जनाएका छन् ।