शुक्रबार बिहान नेपालगन्जमा पौडी प्रतियोगिता हुँदै
नेपालगन्ज : पूर्वखेलाडी समाज बाँकेले शुक्रबार बिहान नेपालगन्जमा पौडी प्रतियोगिता गर्ने भएको छ ।
समाजले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा खुला पौडी प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष प्रकाशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । १०, १२, १४ र १७ वर्ष उमेर समूहबीच फ्रि स्टाइल, ब्याक स्ट्रोक, बटर फ्लाइ र ब्याक स्ट्रोक गरी ४ वटा इभेन्टमा आयोजना गरिने प्रतियोगितामा जिल्लाका ८० खेलाडीले भाग लिँदैछन् ।
त्यसैगरी समाजले हक्की र शारिरीक सुगठन प्रतियोगिता पनि आयोजना गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठ, उपाध्यक्ष निजामुद्दिन अन्सारी, सचिव नरेन्द्र थापा र सदस्य मनोज श्रेष्ठले प्रतियोगिताबारे जानकारी गराउनु भएको थियो भने नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले प्रतियोगिता सफलताको कामना गर्नु भएको थियो ।








