मेयर कप पौडीको उपाधि शिखा एकेडेमीलाई !

नेपालगन्ज : बाँकेमा सञ्चालित प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि कोहलपुरको शिखा एकेडेमीले जितेको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा पूर्वखेलाडी समाज बाँकेले शुक्रबार नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा आयोजना गरेको पौडी प्रतियोगितामा १२३ अंक ल्याएर शिखा एकेडेमी प्रथम भएको हो । आफ्नै पौडी पोखरी रहेको शिखाले यसअघि पनि बाँके जिल्ला, लुम्बिनी प्रदेश पौडीको उपाधि जितिसकेको छ भने राष्ट्रिय पौडीमा दोस्रो भएको थियो ।

प्रतियोगितामा नेपालगन्जको सोफिया रेसिडेन्सियल स्कूल २२ अंक ल्याएर दोस्रो भयो भने १४ अंक ल्याएर स्प्रिङ्डेल एकेडेमी नेपालगन्ज तेस्रो भएको थियो ।


प्रतियोगितामा ४ वटा स्वर्ण पदक विजेता शिखा एकेडेमीका सुशान्त बोहरा उत्कृष्ट छात्र, दुई स्वर्ण र दुई रजत पदक ल्याउने स्प्रिङ्डेल एकेडेमीकी नित्याश्री दहित उत्कृष्ट छात्रा घोषित भए ।

उनीहरुले जनही ५ हजार ५०० सय रुपैयाँ नगदसहित सम्मान प्राप्त गरे ।

प्रमुख रेफ्री चन्द्रराम चौधरीका अनुसार प्रतियोगितामा बाँके जिल्लाका १४ वटा विद्यालयका ८२ जना छात्र–छात्राले १०, १२, १४ र १७ उमेर समूहमा पौडीका फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र बटरफ्लाई विधामा प्रतिस्पर्धा गरेका थिए । ४० वर्षभन्दा माथिको उमेर समूहबीच पनि खुला प्रतिष्पर्धा गरिएको थियो । यसअघि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

नगर प्रमुख विष्टले पौडी खेल स्वास्थ्य, अनुशासन र जीवनरक्षासँग प्रत्यक्ष सम्बन्धित खेल भएको उल्लेख गर्दै विद्यालयस्तरबाट खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए । उनले यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा पहिचान गर्न तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रम समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।