मृतकका परिवारलाई घरमै बिमाको मृत्यु दाबी भुक्तानी
नेपालगन्ज : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्ज शाखा कार्यालयले बाँकेको खजुरा गाउँपालिका ५ वसन्तपुरका का २२ वर्षीय दीपेन्द्रकुमार यादवको परिवारलाई घरमै पुगेर बिमाको मृत्यु दाबी भुक्तानी गरेको छ ।
यादवले २ लाख रुपैयाँको बिमा गरेकोमा दुई किस्ता मात्र बुझाएको अवस्थामा १६ असार ०७९ मा निधन भएको थियो । इन्स्योरेन्सका मुख्य व्यवसाय प्रबन्धक गंगा शर्मा पराजुली, सहायक विकास अधिकृत प्रेमबहादुर विसी, व्यवसाय प्रबन्धक अनिलकुमार यादव र व्यवसाय अधिकृत विशाल विष्ट शुक्रबार यादवको घरमै पुगेर बुबा शालिकराम यादव र आमा रुपरानी यादवलाई २ लाख २५ हजार ६०० रुपैयाँकोे चेक हस्तान्तरण गरेका हुन् ।
१७ वर्षदेखि निरन्तर बिमाको क्षेत्रमा क्रियाशील कम्पनीको मुख्य व्यवसाय प्रबन्धक गंगा शर्मा पराजुलीले बिमा अवधि भन्दा अघि नै निधन भएका व्यक्तिको परिवारलाई घरदैलोमै गएर बिमाको भुक्तानी गरिरहेको बताइन् । उनले भनिन्, ‘बिमा भनेको सुरक्षासहितको बचत हो । हाम्रो कम्पनीले बिमितले जीवन रहँदा विमित आफैले बिमाको भुक्तानी एकैदिनमै पाउँछन् । असामयिक निधन भएका व्यक्तिको हकमा परिवारलाई घर घरमै पुगेर सेवा दिने गरेका छौं ।’