नेता दलबहादुर सुनार माओवादी केन्द्रमा प्रवेश !

नेपालगन्ज : नेकपा एकीकृत समाजवादी पार्टीका नेता दलबहादुर सुनार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रले सोमबार बाँकेमा आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पूर्णकुमारी सुवेदी र पार्टीका जिल्ला संयोजक डम्बरबहादुर विकले नेता सुनारलाई पार्टी प्रवेश गराएका हुन् ।

नेतृ सुवेदीले नेता सुनारलाई उपयुक्त जिम्मेवारी दिने बताइन् । एमाले विभाजन भएपछि सुनार एकीकृत समाजवादीतिर लागेका थिए । उनी पार्टीमा पोलिट ब्यूरो सदस्य र लुम्बिनी प्रदेश सह इन्चार्ज थिए । एमालेबाट उनी यसअघि बाँकेबाट संविधानसभा सदस्य पनि निर्वाचित भएका थिए । उनी सिँचाइ राज्यमन्त्री पनि बनेका थिए । पार्टीले निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उनीलगायतको नाम सिफारिस गरेको थियो । सत्तागठबन्धनसँग चुनावी तालमेल गर्दा प्रतिनिधिसभा सदस्य कांग्रेसको भागमा परेको थियो । लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीले एक सिट पनि प्रदेशसभामा भाग नपाउँदा उनी निराश थिए ।

पार्टी प्रदेश कार्यक्रममा उनले भने, ‘५२ वटा सिट भएको लुम्बिनी प्रदेशमा समाजवादीले एउटा पनि सिट नपाउँदा म त्यो पार्टीमा बस्न सक्दैन । यो जनताको अपमान हो । पार्टीको अपमान हो । त्यसैले मैले विद्रोह गरेको हुँ ।’ पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सहमति विपरित उनले बाँके क्षेत्र नं. ३ क बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनबाट यो क्षेत्रमा माओवादीकै आइपी खरेल प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । उम्मेदवारी फिर्ता गर्ने समय सकिसकेकाले अब उनको स्वतन्त्र उम्मेदवारी के हुन्छ हेर्न बाँकी नैै छ । नेता सुनारले माओवादीमा प्रवेश गरे पनि आफ्नो उम्मेदवारी फिर्ता नहुने पनि कार्यक्रममा ठोकुवा गरेका थिए ।