नेपालगन्जमा भ्रमण प्याकेज विकास तालिम सुरु

नेपालगन्ज : नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपालगन्जमा चार दिने भ्रमण प्याकेज विकास तालिम सुरु गरेको छ ।
नाट्टा केन्द्रीय कार्यालय र दीगो पर्यटनका लागि जिविकोेपार्जन पुनरुत्थान परियोजनासँगको सहकार्यमा नाट्टा बाँके च्याप्टरले चार दिने टुर प्रोडक्ट डेभलपमेन्ट र टिकेटिङ तालिम आयोजना गरेको हो । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बुधबार नेपालगन्जमा तालिमको उद्घाटन गरेका हुन् ।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन शत्रमा प्रमुख अतिथि नगर प्रमुख विष्ट, होटल एशोशिसनका लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, पर्यटन प्रबद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नाट्टा बाँकेका उपाध्यक्ष डिल्लीराम रेग्मी, पत्रकार झलक गैरेलगायतले तालिमको सफलताको कामना गरेका थिए । तालिममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जना टुर अपरेटरहरु सहभागी छन् । नाट्टाका केन्द्रीय सचिव युविका भण्डारी र सुनिल दाहालले तालिमको सहजीकरण गर्दैछन् ।