एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री

नेपालगन्ज : नेकपा (माओवादी केन्द्र)का अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएका छन् ।
नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीे)सहितका सात पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

एमालेको ७८ जना, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४, स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थनसहित राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलीजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् । प्रचण्डले नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने तयारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।