वेष्टर्न ट्राभल मार्ट फ्याम ट्रिप नेपालगन्जमा १५-१७ माघमा हुँदै

नेपालगन्ज : भारतीय टुर अपरेटरलाई पश्चिम नेपालका पर्यटकीय गन्तव्यबारे प्रचारप्रसार गर्ने उद्देश्यले आगामी माघको दोस्रो साता नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट फ्याम ट्रिप हुने भएको छ ।
भारतका २९ राज्यमा रहेका टुर अपरेटरहरुको साझा संस्था ट्राभल एजेन्ट्स एशोसियसन अफ इण्डिया (टाइ)को कार्यकारीसहित ७५ जनाको टोली तीन दिनको लागि नेपालगन्ज आउन लागेको हो । बाँके र बर्दियाका पर्यटकीय गन्तव्यमा नै टाइको क्षेत्रीय महाधिवेशन र व्यवस्थापन समितिको बैठक बस्नेछ ।
भारतका विभिन्न राज्यबाट २८ जनवरीमा लखनउसम्म आउने भारतीय टुर अपरेटरलाई नेपाली टोलीले लखनउबाट गाडीमा राखेर नेपालगन्जसम्म ल्याउने वेष्टर्न ट्राभल मार्ट फ्याम ट्रिप व्यवस्थापन समितिका संयोजक तथा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए । उनीहरुलाई नेपालगन्जको फाइभ स्टार होटल सोल्टी वेष्टर्न प्रिमियरमा बस्ने व्यवस्था गरिएको छ ।
कार्यक्रमको दोस्रो दिन नेपाली र भारतीय टुर अपरेटरबीच बीटुबी सम्झौता हुनेछ । देशभरीका टुर अपरेटरले भारतीय पक्षलाई पर्यटकीय गन्तव्यको बारेमा जानकारी गराउने र टुर प्याकेज दिनेछन् । त्यो दिन भारतीय टुर अपरेटरले नेपालगन्जका क्यासिनोको अवलोकन गर्नेछन् । नेपालगन्जको बागेश्वरी मन्दिरमा दर्शन गर्नेछन् । तेस्रो दिन उनीले बर्र्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी र कर्णाली नदीमा ¥याफ्टिङ गर्नेछन् । बर्दियामा नै ट्राभल एजेन्ट्स एशोसियसन अफ इण्डियाको व्यवस्थापन समितिको बैठक बस्नेछ । नेपाल आएको भारतीय टोली ३१ जनवरीमा स्वदेश फर्कनेछ ।
गत वर्ष वेष्टर्न ट्राभल मार्टको पहिलो संस्करण भएको थियो । यो वर्ष भने सुरुमा फ्याम ट्रिप हुने र त्यसपछि मात्र वेष्टर्न ट्राभल मार्टको दोस्रो संस्करण हुने सोमबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन वोर्डका सिइयो डा.धनञ्जय रेग्मीले जानकारी दिए ।
यो वर्ष पनि स्वदेशी र विदेशी गरी तीन सय जनाको सहभागिता हुने आयोजकले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनुमति दिएमा भारतीय टुर अपरेटरलाई नेपालगन्जबाट मानसरोवरको माउण्टेन फ्याइटमा सयर गराउने कार्यक्रम पनि छ । नाट्टा बाँके च्याप्टर सिग्देल भन्छन्, ‘क्यानले अनुमति दिएमा कैलाश मानसरोवरको दूरदर्शन गराउने र त्यो दिनदेखि नियमित रुपमा मानसरोवरको माउण्टेन फ्याइट गर्ने तयारी रहेको छ ।’
बुद्ध एयरको नेपालगन्ज कार्यालय प्रमुख विनित शाह मानसरोवरको माउण्टेन फ्याइट गर्न तयारी अवस्थामा रहेको बताउँछन् । उनी भन्छन्, ‘क्यानबाट अनुमति पाउने हो र तोकिएको भाडा तिर्न तयार भए बुद्ध एयर ७२ सिटे विमान उडाउन तयार छ ।’