यमपञ्चक : आज कुकुर तिहार र लक्ष्मीपूजा

नेपालगन्ज : हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा गरिँदैछ ।
घरको सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर आज सम्मान गरिन्छ ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावर कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक विश्वास छ । वैवस्वत मन्वन्तरको कूलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ ।
यसैगरी आजै साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । कात्तिक कृष्ण औँसीको यस रातलाई ’सुखरात्रि’ पनि भनिन्छ । सफासुग्घर घरमा मात्र लक्ष्मीको बास हुने जनविश्वास रहेकाले बिहानैदेखि घरका झ्याल, ढोका, सङ्घार, कोठा र कौसी सफा गरी फूलमालाले सजाइन्छ । साँझपख आँगनदेखि पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ। पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा बत्ती बालेर घरलाई झिलीमिली बनाइन्छ । लक्ष्मीपूजा गरेपछि देउसी खेल्न सुरु गरिन्छ ।










