थारु आयोगद्वारा डा.पाण्डेलाई थारू रत्न पुरस्कार

नेपालगन्ज : थारू आयोगले भेरी अस्पतालका डा. राजन पाण्डेलाई थारू रत्न पुरस्कार दिने घोषणा गरेको छ ।
आयोगका सदस्य भोला चौधरीका अनुसार थारू समुदायका लागि योगदान गर्ने चार जनालाई थारू रत्न पुरस्कार दिने शुक्रबार घोषणा गरेको हो । स्वास्थ्य विधा अन्तर्गत भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. पाण्डेलाई चयन गरेको हो । डा. पाण्डे थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाको एकस्पर्ट हुन्। उनी हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन(प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका थिए।
अर्को थारु रत्न थारू सँस्कृतिविद् एवं अनुसन्धानकर्ता महेश चौधरीलाई प्रदान गरिने भएको छ । चौधरीका थारू समुदायका अनुसन्धानमूलक किताहरू नेपालको तराई तथा यसका भूमिपुत्रहरू, स्थविरहरुको प्राचीन इतिहास र संस्कृतिलगायत पुस्तक प्रकाशित छ। उनी २०२८ सालमा प्रकाशित थारु भाषाको पहिलो पत्रिका ‘गोचाली’का सम्पादकसमेत रहिसकेका छन्।
थारु रत्न पाउने अर्का ब्यक्ति भुलाई चौधरी समाजिक अभियन्ता एवं अनुसन्धानकर्ता तथा पूर्वीया थारू भाषाका जानकार हुन्। उनले थारू लोक संस्कृति र पर्वहरूबारे अनुसन्धान गरेका छन्। उनले हमर थारु भाषा नामक किताब प्रकाशन गरेका छन्। पूर्वीया थारू भाषा साहित्य प्रवर्द्धनका लागि स्थापित बसघराको उनी अध्यक्षसमेत हुन्। त्यस्तै, भगवती चौधरी संस्थापक रहेको फर्वाड माइक्रो फाइनान्सले महिलाको उत्थान र आत्मनिर्भर बनाउनका निम्ति योगदान गरेबापत थारू रत्न पुरस्कार प्रदान गरिएको भएको छ ।

त्यस्तै, थारू गौरव पुरस्कार अन्तर्गत ७ जना सम्मानित हुनेछन् । पत्रकारिता विधामा डा. कृष्णराज सर्वहारी, खेलाडी विधामा जयरानी चौधरी, साहित्य विधामा बमबहादुर चौधरी, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, पूर्वकमलरी उर्मिला चौधरी, कलाकारमा गीता चौधरी र राज कुश्मी रहेका छन्। थारू आयोगले वार्षिकोत्सवका अवसरमा सबैलाई तक्मासहितको पुरस्कार प्रदान गर्ने जनाएको छ ।