हुने भयो मानसरोवर माउन्टेन फ्लाइट, सम्झौता पत्रमा हस्ताक्षर

नेपालगन्ज : नाट्टा बाँके च्याप्टरले कैलाश मानसरोवर माउन्टेन फ्लाइटको चार्टर उडान गर्ने भएको छ ।
बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाह र नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलबीच आइतबार नेपालगन्जमा माउण्टेन फ्लाइटको सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापछि नाट्टा बाँके अध्यक्ष सिग्देलले भने, ‘वेष्टर्न ट्राभल मार्ट फ्याम ट्रिपको अवसरमा बुद्ध एयरले प्रमोशनल फ्लाइट गर्न सम्झौता गरेको छ । १६ माघमा हामी भारतीय पर्यटकलाई लिएर पहिलो उडान भर्छौ । त्यसपछि हाम्रो प्रयास नियमित उडान भर्ने हुनेछ ।’
नाट्टा बाँकेले नेपालगन्ज पोखरा हवाइ सेवा पनि सीता एयरको विमान चार्टर गरी उडान सुरु गरेको थियो । अहिले बुद्ध एयरले नियमित उडान गरिरहेको छ । माउन्टेन फ्लाइट पनि नियमित गर्न सकेमा ठूलो संख्यामा भारतीय पर्यटकलाई मानसरोवरको दूरदर्शन गराउन सकिने नाट्टाको दाबी छ ।