कैलाली जान बाँकेमा लुकेका सांसद चौधरी पक्राउ

नेपालगन्ज : नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नंं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी बाँकेबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरका अनुसार नेपाल प्रहरीको स्पेशल टास्क फोर्सले बाँके प्रहरीको सहयोगमा सांसद चौधरीलाई बिहीबार दिउँसो १ बजेतिर बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ गाभरस्थित एक होेमस्टेबाट पक्राउ गरेको थियो ।
चौधरी मंगलबार राति पत्नीसहित सुर्खेतबाट कैलाली जान बाँकेमा आएका थिए । होमस्टे स्रोतका अनुसार बुधबार राति सांसद चौधरी गाभरमा लुकेका थिए । उनले होमस्टेमा इन्ट्री गर्दा सुर्खेतबाट आएको जानकारी गराएका थिए । नेपाल प्रहरीको टोलीलाई सांसद चौधरी मंगलबार नै बाँके प्रवेश गरेको सुँइको मिलेको थियो । त्यसपछि प्रहरीले चौधरी लुक्न सक्ने सम्भावित सबै क्षेत्रमा निगरानी बढाएर खोजी गरेको थियो । पक्राउ परेका सांसद चौधरीलाई श्रीएयरको विमानबाट साँझ ५ः५० बजे काठमाडौं लगिएको थियो । सडक मार्गबाट लैजाँदा अवरोध आउने भन्दै नेपालगन्जबाट काठमाडौं हुँदै धनगढी लगिएको हो ।
२०६६ भदौ ३ गते आफ्नो तत्कालीन बलिया गाविस (हाल लम्की चुहा नगरपालिका)का महादेव बजगाईंको लु २ त २११ नम्बरको ट्याक्टर नदीजन्य पदार्थ लिएर फर्किरहेको थियो । थरुहट थारुवान आन्दोलनका क्रममा अरुण चौधरीसहितका ८–१० जनाले ट्याक्टरमा पेट्रोल छर्केर आजगनी गरेका थिए । आगलागीबाट ट्याक्टरमा क्षति भयो । ट्रयाक्टरमा पेट्रोल छर्केर आगो लगाएको भन्दै बजगाईंले अरुण, वीरबहादुर र परशुराम चौधरीको नाममा २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई दोषी ठहर गर्दै फरार सूचीमा राखेको थियो । प्रतिनिधिसभा सदस्य रहेका चौधरी सहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतका न्यायाधीस विष्णु सुवेदीको एकल इजलासले २०७० वैशाख ९ गते जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।