मिडियाबाट आवाजविहीनको आवाज बुलन्द गरौं : मन्त्री नमूना

खजुरा : लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी नमूनाले मिडियाबाट आवाजविहीनहरुको आवाज बुलन्द गर्नुपर्नेमा जोड दिएकी छन् ।
इलुमिनेट नेपाल मिडिया सेन्टरको आयोजना, प्रेस सेन्टर नेपाल खजुरा शाखाको समन्वय र खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा आइतबारदेखि खजुरामा सुरु भएको १० दिने आधारभूत पत्रकारिता तालिमको शुभारम्भ गर्दै मन्त्री नमूनाले पत्रकारलाई आग्रह र पूर्वाग्रहमा लाग्न नहुन पनि आग्रह गरिन् । उनले भनिन्, पत्रकारलाई सहयोग गरेको आधारमा, नातावाद र कृपावादका आधारमा पक्षधरता देखाएको र कसैको विरोधमा समाचार लेख्ने गरेको आरोप लाग्छ । निष्पक्ष रुपमा रुपमा कलम चलाउने पत्रकारले यस्तो कुरालाई चिनुपर्छ ।
मिडियालाई मुलुक परिवर्तनको वाहकको संज्ञा दिँदै मन्त्री नमूनाले ग्रामीण भेगका बोल्न नसक्नेहरुको आवाज बुलन्द गर्न आग्रह गरेकी थिइन् ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक तुफानले स्थानीय तहका राम्रा अभ्यास र स्थानीय सरकारमा भएका विकृति र विसंगतिका विषयमा कलम लेख्ने पत्रकारको अभाव भएकाले पत्रकारिता तालिम सञ्चालन गरेर समाजको सच्चा पहरेदार बनाउन सहयोग गरेको बताए । अध्यक्ष तुफानले गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थल, धार्मिकस्थल, विकास निर्माण, ऐतिहासिक सम्पदा, कृषि पकेट क्षेत्र र कला संस्कृति लगायतका विषयलाई समाचार लेख्न प्रशिक्षार्थीसँग आग्रह गरेका थिए । कार्यक्रममा खजुरा गाउँपालिकाका प्रवक्ता धनराम वलीले खजुरा गाउँपालिकामा जनमुुखी पत्रकारिताको लागि गैरनाफामूलक एफएम रेडियो खोल्न गाउँपालिकाले सघाउने बताए ।
तालिमको उद्घाटन शत्रमाप्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, सेन्टरका नीति तथा परामर्श समिति सदस्य सुशील शर्मा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोविन्द आचार्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ, सेन्टरका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले, जिल्ला अध्यक्ष राजेश आचार्य, इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मी र तालिमका प्रमुख प्रशिक्षक शंकरप्रसाद खनालले प्रशिक्षार्थी पत्रकारहरुलाई शुभकामना दिएका थिए ।
इलुमिनेट मिडिया सेन्टर नेपालका निर्देशक डक्टप्रसाद धितालको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन कार्यक्रममा प्रेस सेन्टर बाँकेका उपाध्यक्ष सीता वलीले स्वागत गरेकी थिइन् । तालिममा खजुरा गाउँपालिकाको ८ वटा वडाका अध्यक्षहरुसँग समन्वय गरी प्रत्येक वडाबाट दुई दुई जनाका दरले १६ जना प्रशिक्षार्थी पत्रकारहरु लाई सहभागी बनाइएको जानकारी दिएको छ ।