व्यवस्था परिवर्तन गर्न मगरको भूमिका महत्वपूर्ण छ : मन्त्री नमुना

सैनिक (बाँके) : लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी नमुनाले नेपालमा व्यवस्था परिवर्तन गर्न मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।

४१औं मगर संघ स्थापना दिवस तथा मगर एकता दिवसको अवसरमा बाँकेको सैनिकमा सोमबार आयोजित कार्यक्रममा कार्यक्रममा मन्त्री नमुनाले नेपालमा मात्र नभएर विदेशी भूमिमा समेत मगर समुदायको आफ्नै प्रतिष्ठा रहेको बताइन् । ‘नेपालमा विभिन्न कालखण्डमा भएका व्यवस्था परिवर्तनमा मगर समुदायको भूमिका हामीले बिर्सन हुँदैन’ उनले भनिन्, ‘प्रजातन्त्रदेखि गणतन्त्र आउँदासम्म मगर समुदायको धेरै ठूलो योगदान रहेको छ ।’ १० वर्षे जनयुद्धको बेला तत्कालीन माओवादी पार्टीले मगर बाहुल्य रुकुम रोल्पा जिल्लामा मगरात राज्य घोषणा गरेर जनसरकारको अभ्यास गरेको थियो ।
कार्यक्रममा मन्त्री नमूनाले विकासमा कसैले राजनीति गर्न नहुने पनि बताइन् । ‘विकासमा राजनीति होइन, सबैको सहकार्य अहिलेको आवश्यकता हो’ उनको भनाइ थियो, ‘म पनि जुनसुकै राजनीतिक दलमा रहेपनि विकासमा राजनीति गर्दैन । विकासका काममा सबैसँग समन्वय र सहकार्य गर्छु ।’
जिल्लाकै अर्को स्थानबाट निर्वाचन जितेपनि खजुरा क्षेत्रको विकासमा आफुले पहल गर्ने मन्त्री केसीले प्रतिवद्धता जनाउनुभयो । ‘खजुरा क्षेत्र मेरो राजनीतिको आधारभूमी समेत हो । मैले खजुराबाट नै राजनीति सुरु गरेकी हुँ’ उनले विगत सम्झँदै भनिन्, ‘खजुरा क्षेत्रको बारेमा म जानकार छु । स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर यहाँको विकासको लागि पहल गर्छु ।’ खजुराको स्थानीय सरकारले गर्न नसक्ने काम प्रदेश सरकारले गर्ने र प्रदेशबाट पनि हुन नसक्ने कामको समन्वय संघीय सरकारसँग गरेर गर्ने उनले प्रतिबद्धता जनाइन् ।