६० रुपैयाँमा एक प्लेट बिरयानी !

नेपालगन्ज : ‘एक प्लेट चिकेन बिरायनी कति रुपैयाँमा पर्छ ?’, नेपालगन्जको कारकाँदोस्थित स्प्रिङ डेल एकेडेमीको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित फुड स्टलमा बिरयानी बेचिरहेका कक्षा ११ का होटल म्यानेजमेन्टका विद्यार्थी कुशल न्यौपानेले भने, ‘कस्तो होटल र रेष्टुरेन्टमा गएर खानुहुन्छ ? त्यो अनुसार रेट हुन्छ । हामीले ६० रुपैयाँ प्लेटमा बेचिरहेका छौं । हामीलाई थोरै नाफा हुन्छ ।’ विद्यालयमा होटल व्यवस्थापन पढिरहेका विद्यार्थीले हैरदावादी दमका बिरयानी बनाएर बेचेका थिए ।

स्टलमा विद्यार्थीले इड्ली, डोसा, साम्बा, नेवारी फुडमा मासको बारा र फुलौरा, त्यस्तै खीर, सेलरोटी, आलुको अचार, जेरी, दही बनाएर बेचिरहेका थिए । होटल म्यानेजमेन्टका शिक्षक तपेन्द्र रावल सैद्धान्तिक ज्ञानलाई विद्यार्थीले व्यवहारमा उतारेको बताए । शिक्षक रावलसँग होटल क्षेत्रमा देश र विदेशमा लामो समय काम गरेको अनुभव छ । उनले दुबइमा चार वर्ष, साउदी र इण्डियामा तीन तीन वर्ष, कतार र बहराइन एक एक वर्ष होटल क्षेत्रमा काम गरेका छन् । नेपालका पनि काठमाडौंको सोल्टी, ¥याडिसन, ह्यात जस्ता फाइभ स्टार होटलमा काम गरेका छन् । होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई विद्यालयले नेपालगन्जका सोल्टी, स्टार लाइट, स्नेह, वाटिका जस्ता तारे होेटलहरुमा काम सिक्न पठाइरहेको रावल बताउँछन् ।

वार्षिकोत्सवका अवसरमा नर्सरीदेखि १२ कक्षाका विद्यार्थीले आफ्नो कला र प्रतिभाबाट तयार गरेका विज्ञान प्रविधि, कला, संस्कृति, साहित्य, वातावरणसँग सम्बन्धित सामग्री प्रदर्शनी राखेका थिए । विद्यालयका प्राचार्य शरदचन्द्र रावलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै जीवनोपयोगी सीपहरुको विकास गर्न विद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको बताए । कार्यक्रममा विज्ञान प्रदर्शनीका उत्कृष्ट विद्यार्थी, नृत्यमा जिल्ला प्रथम, एसइईमा विद्यालय टपर विद्यार्थीलाई पुरस्कार गरिएको थियो । कार्यक्रममा विद्यार्थी नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य माया पुन मगर प्रमुख अतिथि रहेको वार्षिकोत्सव कार्यक्रममा लिडरसीप एकेडेमीका सभापति सन्तोष शाह, राष्ट्रिय शिक्षा वोर्ड कोहलपुरका प्रमुख रामसुरेश यादव, प्याब्सन बाँकेका अध्यक्ष यमबहादुर रावत, प्याब्सन नेपालगन्ज नगर समिति अध्यक्ष विकास बज्राचार्य, अभिभावक ऋचा लुइँटेललगायतले विद्यालयको सफलताको कामना गरेका थिए ।