‘ला टोमाटिना’को नाममा नेपाली अर्गानिक होली !

कोहलपुर : माटोको भाडामा लस्करै रंगका घोल छन् । सालका दुना र टपरीमा बोक्दै लगाउँदै । पाकेको गोलभेंडा, बेसार, हलेदो, चन्दन र दुबोको पेस्ट मिक्स गरेर रंग बनाइएको थियो । पत्रकार सरला सुवेदीले फेसबुकमा लेखेकी छन्, ‘यसपालिको अर्गानिक होली साँच्चै रमाइलो भो । यस्तो रंगले होली अवधिभर शितलता प्रदान ग-यो ।’

स्पेनमा जस्तो नेपालमा पनि ला टोमाटिना उत्सव मनाउन खोजिएको थियो । ‘ला टोमाटिना’ विदेशी संस्कृति र उत्सव भित्र्याएर टमाटर नष्ट गर्न खोजेको, गोलभेंडा खान नपाइरहेको बेला उत्सवमा गोलभेंडा नष्ट नगरेर बाँड्नुपर्ने प्रतिक्रिया सामाजिक सञ्जालमा आएका थिए । स्पेनमा जस्तो ठूलो परिणाममा टमाटर एकै ठाउँमा जम्मा गरेर ‘ला टोमाटिना’ पर्वमा टमाटर एकापसमा दल्ने र टमाटरले हान्ने काम गरिएको थिएन । यहाँ त टमाटरको घोल बनाइएको थियो । आयोजकले क्रिया अघिको शुभेच्छुकको प्रतिक्रियालाई सकारात्मक रुपमा लिँदा मंगलबार कोहलपुरको गोलपार्कमा आयोजना गरिएको गोलभेंडा उत्सव भव्य र अर्गानिक भएको छ । यो उत्सवले विदेशबाट ल्याइने रंगको विकल्पमा स्वास्थ्यका लागि फाइदाजनक हुने स्वदेशी कृषि उपज र वनस्पतिबाट बनेको रंगबाट होली खेल्ने नयाँ विधि पनि सिकाएको छ ।

आयोजक नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल रंग किन्न नेपाली मुद्रा भारत र चीन जाने गरेकोमा हाम्रो भान्सा र करेसाबारीमा रहेका वनस्पति र जडिबुटीबाट होली खेल्दा पैसा पनि स्वदेशमै रहने र स्वास्थ्यका हिसाबले पनि लाभ मिल्ने दाबी गर्छन् ।
कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले त नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न ‘ला टोमाटिना’ आयोजनामा सहकार्य गरेको बताए । ‘पर्व कुनै वर्ग विशेष र भूगोलमा सिमित हुनु हुँदैन । पर्व खुम्चिने, साँघुरिने र संकुचित अवस्थाबाट गुज्रुनु हुँदैन’, नगर प्रमुख आचार्य भन्छन्, ‘सदभावको पर्र्व होलीलाई अन्तराष्ट्रियकरण गर्नुपर्छ ।’
ला टोमाटिना स्पेनिश उत्सव हो । जुन सन् १९४५ देखि लगातार हरेक वर्ष अगस्टको अन्तिम बुधबार बुनोल सहरमा मनाइन्छ । त्यसैको सिको गर्दै विश्वका धेरै सहरमा मनाउने गरिन्छ । गत सोमबार काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको परिसरमा ला टोमाटिना मनाइएको थियो ।