खजुराका किशोरकिशोरीलाई १० दिने पत्रकारिता तालिम

खजुरा : बाँकेको खजुराका ८ वटै वडाका किशोरकिशोरीलाई १० दिने पत्रकारिता तालिम दिइएको छ ।
इलुमिनेट नेपाल मिडिया सेन्टरको आयोजना, प्रेस सेन्टर नेपाल खजुरा शाखाको समन्वय र खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित १० दिने आधारभूत पत्रकारिता तालिम बिहीबार सम्पन्न भएको हो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक तुफान, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, इलुमिनेट मिडिया सेन्टर नेपालका निर्देशक डक्टप्रसाद धितालले तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए । निर्मला साउद, जुना रावत, दीपक कुवँर र फुलजहाँ खाँले १० दिने तालिमको अनुभव र सिकेका कुराबारे जानकारी दिँदै समाचार लेखेर समाजलाई सुसूचित गर्ने प्रतिबद्धता जनाएका थिए ।

इलुमिनेट मिडिया सेन्टर नेपालका निर्देशक डक्टप्रसाद धितालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष तुफान, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदी, नेकपा (माओवादी केन्द्र) खजुराका अध्यक्ष राजकुमार बिक, प्रेस सेन्टर नीति तथा परामर्श समिति सदस्य सुशील शर्मा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ, प्रेस सेन्टर नेपालका लुुम्बिनी प्रदेश सचिव आलम खान, जिल्ला सचिव केपी घिमिरे, खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य मणि अर्याल, प्रेस सेन्टर बाँकेका उपाध्यक्ष सीता वलीले प्रशिक्षार्थी पत्रकारहरुलाई बधाइ तथा शुभकामना दिएका थिए । तालिममा खजुरा गाउँपालिका हरेक वडाका दुई दुई जनाका दरले १७ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।