डीआइजी राईको निर्देशनमा बर्फानी बाबा आश्रममा बढाइयो सुरक्षा

गेग्ली (बाँके) : बाँकेको पर्यटकीय क्षेत्र बर्फानी बाबा आश्रममा सुरक्षा व्यवस्था बढाइएको छ ।
नेपाल प्रहरीको लुम्बिनी प्रदेश प्रमुख डीआइजी टेकप्रसाद राईले बिहीबार बर्फानी बाबाको आश्रम क्षेत्रको स्थलगत अवलोकन गरेर थप सुरक्षा व्यवस्था मिलाउन इलाका प्रहरी कार्यालय भगवानपुरलाई निर्देशन दिएका हुन् । दुई जना प्रहरीले सुरक्षा दिँदै आएकोमा एक जना प्रहरी थपेर तीन जना बनाइएको हो ।

बर्फानी बाबाको गेग्लीस्थित आश्रम क्षेत्रमा पनि नेपाल प्रहरीले आवश्यकता अनुसार सुरक्षा व्यवस्था मिलाउन डीआइजी राईले निर्देशन दिएका थिए । डीआइजी राईलाई बर्फानी बाबाले स्वागत गर्दै केही वर्ष अघि आफूमाथि भौतिक आक्रमण भएकाले सुरक्षा चुनौैती अझै पनि कायमै रहेकाले सुरक्षा व्यवस्था बढाउन माग गरेका थिए ।

जिल्लाको नरैनापुर र राप्तीसोनारी गाउँपालिकाको सीमामा रहेको यो आश्रममा नेपालीसँगै भारतीय भक्तजनको घुँइचो लाग्ने गरेको छ । बिहीबार डीआइजी राईसँगै नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैैश्यसहित उद्योगी व्यवसायी, नागरिक अधिकारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, स्थानीय र भारतीय गरी कम्तीमा एक सय जनाको संख्यामा भक्तजनहरु आश्रममा पुगेका थिए ।

बर्फानी बाबाको आश्रमसँगै शिवजीको मन्दिर पनि छ । शिवरात्रिमा सबैभन्दा धेरै भक्तहरु जाने गरेका छन् ।