‘नेपाल-भारतबीच आयुर्वेद क्षेत्रमा थप सहकार्य आवश्यक’

काठमाडौं : नेपाल-भारतबीच आयुर्वेद क्षेत्रमा थप सहकार्य आवश्यक रहेको एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
भारतीय राजदूतावास काठमाडौंले आठौं आयुर्वेद दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजना गरेको परम्परागत चिकित्सा विशेष गरी आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे छलफल कार्यक्रमका वक्ताले यस्तो जोड दिएका हुन् । नेपाल–भारतबीच आयुर्वेद क्षेत्रमा सदियौंदेखि सहकार्य हुँदै आएको छ । नेपालबाट कच्चा पदार्थ भारत निर्यात हुन्छ भने भारतबाट आयुर्वेदिक औषधि आयात हुँदै आएको छ ।
कार्यक्रममा नेपालका लागि भारतीय दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेद लगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यबारे चर्चा गर्नुका साथै ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदानप्रदान मार्फत आयुर्वेदमा सहकार्य प्रवद्र्धन गर्न चालिएका विविध पहलबारे जानकारी गराएका थिए । स्वस्थ भविष्यका लागि एक पृथ्वी एक स्वास्थ्य भावनामा केन्द्रित रही आयुर्वेदको प्रवद्र्धनमार्फत भारत र नेपालबीचको सम्बन्धलाई अझ बलियो बनाउन भारतीय राजदूतावास काठमाडौं प्रतिबद्ध रहेको उनले बताए ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यता प्राप्त प्रणाली भएको उल्लेख गर्दै नेपाल सरकारले आयुर्वेदको प्रवद्र्धनका लागि लिएको पहलबारे प्रकाश पारेका थिए ।
सोही अवसरमा डाबर नेपालका व्यवसाय प्रमुख हरकिरत सिंह वेदीले डाबरले नेपाली जडीबुटी संकलन गर्न आपूर्ति श्रृंखलाको विकास गरेको र त्यसले स्थानीय समुदायका लागि दिगो जडीबुटी खेती गर्ने अवसरहरु प्रदान गरेको बताएका थिए । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अंग भएको जिकिर गरेका थिए ।
कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भारत सरकार, आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक वर्ष धनवन्तरी जयन्ती (धन्तेरस)मा आयुर्वेद दिवस मनाउँदै आएको छ । सन् २०२३ नोभेम्बर १० मा मनाइने आठौं आयुर्वेद दिवसको नारा ‘एक स्वास्थ्यका लागि आयुर्वेद हरेकका लागि हरेक दिन आयुर्वेद’ रहेको छ ।