जाजरकोट भूकम्प : ३३ घाइतेको बाँकेमा उपचार, एकको मृत्यु

नेपालगन्ज : भूकम्पमा घाइते भएका जाजरकोट र रुकुम पश्चिमका ३२ जनाको बाँकेमा उपचार भइरहेको छ । भेरी अस्पताल नेपालगन्जमा ३२ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका ३३ जनामध्ये एक जनाको ज्यान गएको हो । हेलिकप्टरबाट उद्दार गरिएका जाजरकोटको नलगाड–१ पालीका घाइते ३३ वर्षीय टेकबहादुर पुनलाई भेरी अस्पतालमा शनिबार मध्यान्न १२ चिकित्सकले मृतक घोषणा गरेका थिए । उपचारमा ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताएका छन् ।
भूकम्प प्रभावित क्षेत्रबाट रिफर भएका घाइतेहरुको डेडिकेट अस्पताल बनाएकाले भेरीमा अहिले जाजरकोटका २७ र रुकुम पश्चिमका ६ जनाको उपचार भइरहेको छ । जसमा महिला १६ र पुरुष १७ जना छन् । १८ वर्ष मुनीका ९ जना, ६० वर्षमाथिका ५ जना रहेका छन् ।