आर्ट अफ लिभिङद्वारा भूकम्प प्रभावित ४२५ विद्यार्थीलाई सोलार बत्ती वितरण

शंकरप्रसाद खनाल । वीरेन्द्रनगर (सुर्खेत)

द आर्ट अफ लिभिङ नेपालले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका सवा एक सय विद्यार्थीलाई सोलार बत्ती वितरण गरेको छ ।
द आर्ट अफ लिभिङ नेपालले संस्थाका संस्थापक अध्यात्मिक गुरु श्री श्री रविशंकरको ६८औं जन्मोत्सवको अवसरमा भारतको स्नाइडर इलेक्ट्रिक फाउण्डेशनको सहयोगमा जाजरकोट र सुर्खेतका भूकम्प प्रभावित विपन्न चार सय २५ विद्यार्थीलाई सोलार बत्ती वितरण गरेको हो ।
संस्थाका नेपाल कन्ट्री को–अर्डिनेटर मीखा माथेमा र नेपाल प्रोजेक्ट कोअर्डिनेटर किशोरकुमार झाले कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतलाई सोमबार सुर्खेतको वीरेन्द्रनगरमा सोलार बत्ती हस्तान्तरण गरेका हुन् । मन्त्री रावतले जाजरकोट र सुर्खेतका विभिन्न वडाका जनप्रतिनिधिमार्फत विद्यार्थीलाई सोलार बत्ती जिम्मा लगाएका थिए ।
जाजरकोटको कुशे गाउँपालिका ४ मा १८२, कुशे १ मा ६, शिवालय गाउँपालिका २ मा १४, नलगाड नगरपालिका ७ मा १४, जुनिचाँदे गाउँपालिका ६ मा ५०, छेडागाड नगरपालिका ३ मा १२, र नलगाड १ मा ४० विद्यार्थीलाई वितरण गरिनेछ । त्यसैगरी सुर्खेतको बराहताल गाउँपालिका ४ का २१, बराहताल ८ का २३, भेरीगंगा नगरपालिका १ का २३, चिडगाड गाउँपालिकाका ८, चौकुने गाउँपालिका ५ का २४, चौकुुने ४ का १४, चौकुने २ का ७, भेरीगंगा नगरपालिका २ का ५ र पञ्चपुरी नगरपालिका ७ का ७ विद्यार्थीले सोलार बत्ती पाउनेछन् ।
द आर्ट अफ लिभिङ नेपालका कन्ट्री को–अर्डिनेटर मीखा माथेमाले भूकम्प प्रभावित क्षेत्रमा विद्युत सेवा नपुगेका कक्षा ७ भन्दा मुनी र कक्षा ८ भन्दा माथि पढ्ने विद्यार्थी भएका अति विपन्न, एकल महिला, अपाङ्गता भएका विद्यार्थीलाई प्राथमिकतामा राखेर सोलार बत्ती वितरण गरेको बताइन् । उनले भनिन्, ‘विद्युत सेवा नपुगेको ठाउँका विद्यार्थीको पढाइका लागि सोलार बत्ती वितरण गरेका हौं । यो क्षेत्रका युवाका लाागि संस्थाले अरु पनि सहयोगका कार्यक्रम सञ्चालन गर्नेछ ।’
द आर्ट अफ लिभिङले वीरेन्द्रनगरस्थित राष्ट्रिय प्राविधिक शिक्षालयका विद्यार्थीका लाागि आयोजना गरेको ८ दिने युथ लिडरसीप टे«निङ प्रोग्रामका सहभागीहरुलाई पनि मन्त्री रावतले प्रमाणपत्र वितरण गरेका थिए । तालिमका सहभागी सुनिता सेजुवाल, रेखाकुमारी विके र भावना विकेले तालिमको अनुभव सुनाएका थिए । द आर्ट अफ लिभिङका शिक्षक काव्य लम्साल र सागर भुसालले तालिममा सहजीकरण गरेका थिए । राष्ट्रिय प्राविधिक शिक्षालय तथा नेपाल इन्जिनियरिङ एण्ड टेक्निकल साइन्स एकेडेमीका सिइयो मीनबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द आर्ट अफ लिभिङका लुम्बिनी प्रदेश प्रमुख सञ्जय थापा, विकास खत्री, भवानी खड्का लगायतले धारणा राखेका थिए ।