भेरीलाई ५०० शैयाको अस्पतालमा स्तरोन्नती गरिँदै !

नेपालगन्ज : नेपाल सरकारले नेपालगन्जको भेरी अस्पताललाई ५०० शैयामा स्तरोन्नती गरेर विशेषज्ञ र विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न लागेको छ ।
संघीय सरकारको आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रममा भेरीलाई ५०० शैैयामा स्तरोेन्नति गरेर विशिष्टिकृत सेवाको अस्पताल घोषणा गरे पनि कार्यान्वयन हुन सकेको थिएन । अस्पताल विकास समितिले ५० शैया र नेपाल सरकारको १०० शैया गरी १५० शैयामा सञ्चालन भइरहेको अस्पताल गत वर्षदेखि २७० शैयामा सञ्चालन भइरहेको छ । भौतिक पूर्वाधार र जनशक्तिको अभावमा सरकारले ६ वर्षअघि घोषणा गरे पनि भेरी ५०० शैया सञ्चालन हुन सकेको थिएन ।
भेरी अस्पतालले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले भेरीसहित सबै प्रदेशमका संघीय अस्पताललाई ५०० शैयामा स्तरोन्नती गरेर विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न लागेको जानकारी दिए । मन्त्रालयले अस्पतालको स्तरोन्नती र जनशक्ति विस्तारका लागि संगठन संरचना तथा व्यवस्थापन सर्भेक्षण २०८१ स्वीकृत गरेर बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाएको छ । ‘हाम्रो सर्भेक्षणले एउटा संघीय अस्पताललाई ५०० शैयाको बनाउँदा कम्तीमा पनि एक हजार सात सय जनशक्ति आवश्यक पर्ने देखाएको छ । अर्थ मन्त्रालयले दरबन्दी स्वीकृत गरेको खण्डमा आगामी आर्थिक वर्षदेखि अस्पतालको स्तरोन्नती र जनशक्ति उपलब्ध गराइनेछ’, उनले भने, ‘देशैभरी कम्तीमा ६ देखि १० हजार जनशक्ति थप गर्ने हाम्रो तयारी छ ।’ मन्त्रालयले स्थानीय तहका १५ शैयाका आधारभूत अस्पताल, जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा सामान्य बिरामी पठाएर संघीय अस्पतालमा विशेषज्ञ र विशिष्टिकृत स्वास्थ्य सेवा दिने व्यवस्था गर्न लागेको छ । ‘सघीय अस्पतालमा सामान्य बिरामीको चापले विशेषज्ञ र विशिष्टिकृतका बिरामीले राम्रो सेवा पाउन सकेका छैनन् । त्यसलाई सुधार्न लागेका छौं’, उनले प्रष्ट पारे ।
पत्रकार सम्मेलनमा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले जनशक्ति र भौतिक पूर्वाधारको अभावमा अस्पताल आएका सबै बिरामीलाई सेवा दिन नसकेको मन्त्रालयलाई ध्यानाकर्षण गरेका थिए । अध्यक्ष शाहले भने, ‘भेरी अस्पतालले विशेषज्ञ र विशिष्टिकृत सेवा दिएका कारण बिरामीलाई भारत र काठमाडौं जाने बाध्यता हट्दै गएको छ । सरकारले थप जनशक्ति व्यवस्थापन गरेमा कोही पनि बिरामी फर्कने अवस्था आउने थिएन । १९४७ साउन १२ मा पृथ्वी–वीर डिस्पेन्सरीको नाममा ७ शैयाबाट सेवा सुरु भएको भेरी अस्पताल वि.स. २०१६–२०२१ सम्म रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह, २०२२ सालमा भेरी अञ्चल अस्पताल, २०७५ पुसदेखि दुई महिना मात्र प्रादेशिक अस्पताल हुँदै २०७५ फागुनदेखि संघीय अस्पताल भएको हो । वीर अस्पतालसँगै जन्मिए पनि सरकारी बेवास्ताका कारण जनशक्ति र भौतिक पूर्वाधारको अभावमा भेरीले लक्ष्य अनुसार सेवा दिन सकेको छैन ।