नौवस्ता औद्योगिक क्षेत्रको काम यही वर्ष सुरु गर्छु : मन्त्री भण्डारी
नेपालगन्ज : नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नौबस्ता औद्योगिक क्षेत्रको काम यसै वर्षभित्रै सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।
संघको शनिबार नेपालगन्जमा ३२औं र ३३औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री भण्डारीले प्रस्तावित औद्योगिक क्षेत्रभित्र अव्यवस्थित बसोबास हटाउने, माटो सम्याउने काम हुने बताए । उनले औद्योगिक क्षेत्रको विकास निर्माणका लागि दातृ निकायको पनि खोजी भइरहेको प्रष्ट पारे । उनले आइसीपीलाई पूर्ण रुपमा सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न साधारण सभामा पूर्वअध्यक्षकोे तर्फबाट नन्दलाल वैश्यले साधारणसभाको सफलताको कामना गरेका थिए । साधारणसभाले महासचिव भीमबहादुर रानाभाटको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष मख्खनबहादुर धामीको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
अर्थ समृद्धि स्मारिकाको विमोचन
नेपालगन्ज उद्योग वाणिज्य संघले प्रकाशन गरेको स्मारिका अर्थ समृद्धि विमोचन गरिएको छ ।
नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शनिबार नेपालगन्जमा ३२औं र ३३औं वार्षिक साधारण सभाको अवसरमा स्मारिका विमोचन गरेका हुन् । स्मारिका भन्सार विशेष रहेको छ । जसमा नेपालगन्जमा भन्सार राजस्व बर्सेनि घट्दै गइरहेको, खुला सीमा नाकाले उद्योगी, व्यवसायी मर्कामा परेको, प्लाइउड उद्योगले निर्यातमा आशा जगाएको लगायतका सामग्री समेटिएको छ ।
मन्त्री अग्रवालसहित १५ जनालाई सम्मान, पत्रकार गिरी पुरस्कृत
नेपालगन्ज उद्योग वाणिज्य संघले पत्रकार नविन गिरीलाई पुरस्कृत गरेको छ ।
संघको ३२ र ३३औं वार्षिक साधारणसभाको अवसरमा रेडियो नेपालका बाँके संवाददाता नविन गिरीलाई ११ हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रले उत्कृष्ट पत्रकारको रुपमा पुरस्कृत गरिएको हो । पुरस्कारका लागि गिरीलाई नेपाल पत्रकार महासंघ बाँके शाखाले सिफारिस गरेको हो । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, संघका अध्यक्ष टंकबहादुर धामीले पुरस्कार हस्तान्तरण गरेका थिए । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल र संघका अध्यक्ष टंकबहादुर धामीले पुरस्कृत गरेका हुन् । त्यसैगरी रेडियो कृष्णसारकर्मी कृष्ण अधिकारीलाई संघले सम्मान गरेको थियो ।
त्यस्तै, संघले लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाललाई विशेष सम्मान गरेको थियो । संघका प्रवक्ता डम्मरबहादुर चन्दका अनुसार संघको पूर्व प्रथम उपाध्यक्ष रहेका मन्त्री अग्रवाललाई संघकोे उन्नति प्रगतिमा सहभागी हुँदै राजनीतिक यात्रामा लागेको भन्दै सफलताको कामना गर्दै सम्मान गरेको हो ।
त्यसैगरी गल्ला मण्डीका एम.डी.स्टोरका मैैनुद्दिन अन्सारी, संघका पूूर्व अध्यक्षहरु कन्हैया लाल टण्डन, सतिशचन्द्र अग्रवाल, सुनिलकुमार शर्मा, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्यलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट भारत निर्यातकर्ता गंगा रोजिन एण्ड टर्पेन्टाइन इण्डष्ट्रिजका प्रकाश तायल, तेस्रो देश निर्यातकर्ता बाहुबली हर्बल एसेन्स एण्ड एम्ट्राम्सका राजेशकुमार जैन, उत्कृष्ट महिला उद्यमी द बज्ज फेशन वयरका सिमिता राणा, उत्कृष्ट युवा व्यवसायी लजिज पिज्जा वर्ड नेपालका आदित्य गुप्ता र संघर्षशील व्यवसायी गोरखा साइकल सप्लायर्सका मो.सरिफ वागवानलाई सम्मान गरिएकोे थियो । त्यस्तै, ३ वर्षको अग्रीम फर्म नविकरण गर्ने सयपत्री फेन्सी स्टोरका देवेन्द्रबहादुर जिसी, अग्रीम एक वर्ष फर्म नविकरण गर्ने गंगा रोजिन एण्ड टर्पेन्टाइन इण्डिट्रिजका प्रकाश तायल र अग्रीम एक वर्षको फर्म नविकरण गर्ने गौतम इलेक्ट्रोनिक्स एण्ड मोबाइल सप्लायर्सका पूर्णप्रसाद गौतमलाई सम्मान गरिएको थियो । सन्तोष वाल्मिकीलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद सहित सम्मान गरिएको थियो ।