होटल सिद्धार्थमा पढ्दै, सिक्दै, कमाउने अवसर !

नेपालगन्ज : चार तारे होटल सिद्धार्थ नेपालगन्जमा बाँकेमै पहिलो पटक हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्टमा पढ्दै, सिक्दै, कमाउने अवसर मिल्ने भएको छ ।
पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा झन्डै तीन दशक लामो अनुभव भएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले पढ्दै, सिक्दै, कमाउने अवसर प्रदान गर्ने उद्देश्यले नेपालगन्जमा सिद्धार्थ एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्ट (साथम) कलेज सुरु गर्न लागेको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा साथम कलेजले यसै शैक्षिक सत्रदेखि नेपालगन्जमा ब्याचलर इन हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट (बिएचटिएम)मा पढाई सुरु गर्दैछ ।
सिद्धार्थ गु्रपले बुधबार नेपालगन्जमा हस्पिटालिटी करियर कन्भेन्सन आयोजना गरेर १५० जनाभन्दा बढी प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीमाझ आठ सेमेस्टर (चार वर्षे)को बिएचटिएम कोर्षबारे जानकारी गराएको हो । कार्यक्रममा भैरहवा साथम कलेजका प्राज्ञिक निर्देशक निश्चल श्रेष्ठले जुनसुकै संकायबाट प्लस टु उर्तिर्ण भएका विद्यार्थीले बिएचटिएम पढ्न पाउने बताए । उनले भने, ‘पढ्दै सिक्दै कमाउँदै कार्यक्रमले विद्यार्थीले चार वर्षमा लाग्ने शुल्कको ९० प्रतिशत कमाउन सक्नेछन् ।’

कलेजको एकेडेमिक र प्रयोगात्मक कक्षाहरु होटेल सिद्धार्थ नेपालगन्जको परिसरभित्रै सञ्चालन हुनेछ । बिएचटिएम कोर्षमा फुड प्रोडक्सन, फुड एन्ड वेभरेज सर्भिसेस, हाउसकिपिङ, टुरिजम, फ्रन्ट अफिस, मार्केटिङ जस्ता विषयमा सैद्धान्तिक र प्रयोगात्मक पढाइ हुनेछ । तीन वर्ष नेपालमा पढेर बाँकी एक वर्ष विदेश गएर पढ्न चाहने विद्यार्थीका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयले नै चीन र दक्षिण कोरियाका केही विश्वविद्यालयसँग सहकार्य गरेर छात्रवृत्तिमा पढ्ने र काम गर्ने अवसर मिलाइ दिन्छ ।
चार तारे होटल सिद्धार्थका महाप्रबन्धक बद्री कोइराला पढाइ पूरा गरेपछि सिद्धार्थ ग्रुप अन्र्तगत देशैभर रहेका होटेल, रिसोट, रेष्टुरेन्ट, क्याफे (सिद्धार्थ गु्रप अन्र्तगत पाँच तारे, चार तारे र तीन तारे होटेल, रिसोट, रेष्टुरेन्ट र क्याफे गरेर ३२ वटा आउटलेटमा काम गर्ने अवसर पाउने बताउँछन् ।