लियो क्लब इनोभेटिभको अध्यक्षमा बस्नेत
नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको संरक्षकत्वमा सञ्चालित लियो क्लब अफ नेपालगन्ज इनोभेटिभको अध्यक्षमा एलिशा बस्नेत निर्वाचित भएकी छन् ।
क्लबको बिहीबार नेपालगन्जमा सम्पन्न १०औं वार्षिक साधारणसभा तथा ९औं क्लब अधिवेशनले लियो वर्ष २०२५-२०२६ का लागि बस्नेतलाई सर्वसम्मत् रुपमा निर्वाचित गरिएको हो ।
क्लबका लियो वर्ष २०२४-२०२५ का अध्यक्ष हिरामणि दाहालले बिहीबार नै बस्नेतलाई पद हस्तान्तरण गरे । क्लबको प्रथम उपाध्यक्षमा पल्पसा थापा र सचिव दिक्षा क्षेत्री चयन भएका छन् । अरु पदाधिकारी भने क्लबको पहिलो बैठकले चयन गर्ने अध्यक्ष बस्नेतले जानकारी दिइन् ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका पूर्वगर्भनर मुकुट ढकाल, लियो डिष्ट्रिक काउन्सिल ३२५ एनका अध्यक्ष सिद्धार्थ कायस्थ, लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष अमृत थापा क्षेत्रीले लियो इनोभेटिभको नवनिर्वाचित टिमलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभका पूर्वअध्यक्षहरु उमा थापा मगर, मीना सुवेदी ढकाल, सुशीला चन्द, शंकरप्रसाद खनाल, लियो डिष्ट्रिक काउन्सिल ३२५ एनका निवर्तमान प्रथम उपाध्यक्ष प्रकाश कुँवर, लियो क्लब अफ नेपालगन्ज सिटीका निवर्तमान अध्यक्ष सरस्वती थापा मगर र लियो इनोभेटिभका सदस्यहरु सहभागी भएका थिए ।









