बाँकेमा डेढ दर्जन कार्यालयमा आगजनी, अदालत, आन्तरिक राजस्व र उपमहानगरमा रातिसम्म आगो दन्कँदै

सुलभराज श्रेष्ठ
आयुष थापा

नेपालगन्ज : जेन-जी आन्दोलनकारीहरुले मंगलबार बाँकेका डेढ दर्जन बढी सरकारी कार्यालय र घरमा तोडफोड र आगजनी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी रामप्रसाद घर्तीले जिल्लामा कति वटा कार्यालयमा आगजनी, तोेडफोड र क्षति भयो भन्नेबारे एकिन नै नभएको बताए । उनले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा रातिको सवा ८ बजेसम्म पनि आगो दन्किरहेको बताए ।
जेन-जीको आन्दोलनका क्रममा सोमबार काठमाडौंमा प्रहरीको गोली लागेर नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १ धम्बोझीका २३ वर्षीय सुलभराज श्रेष्ठ र १९ वर्षीय आयुष थापाको निधन भएपछि नेपालगन्जमा आन्दोलनकारीहरु आक्रोसित बनेका थिए । उनीहरुले दिउँसो २ बजेतिर जिल्ला प्रशासन कार्यालय बाँकेमा आगजनी गरेका थिए । त्यसैगरी उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास, जिल्ला अदालत बाँके, मालपोत र नापी कार्यालय, आन्तरिक राजस्व कार्यालय, कृषि ज्ञान केन्द्र, नेपालगन्ज भन्सार कार्यालयमा, नेपालगन्ज उपमहानगरपालिकामा तोडफोड र आगजनी गरेका थिए । नेपालगन्जको सुर्खेत रोडमा रहेको वीपी चोकको वीपीको शालिक र पुष्पलाल चोकमा रहेको पुष्पलालको शालिक पनि ढालेका थिए ।

चोक आसपासका प्रहरी बिटहरु पनि आन्दोलनकारीहरु तोडफोेड गरेका थिए । गणेशमान चोकमा रहेको गणेशमानको शालिक पनि तोडफोड गरिएको छ । आन्दोलनकारीहरुले सरकारी कार्यालयका दर्जनौं मोटरसाइकल र गाडी पनि तोडफोड र आगजनी गरेका छन् । गाडीका अवशेष सडकभरी देख्न सकिन्छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी लक्ष्मी खनालका अनुसार आन्दोलनकारीले कोहलपुर नगरपालिकामा तोडफोड र आगजनी गरेका छन् । नगरपालिकामा आगजनीको प्रयास हुँदा प्रहरीले आन्दोलनकारीलाई अश्रृंग्यास समेत प्रहार गरेको थियो । उनीहरुले नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीको घरमा पनि तोडफोड र आगजनी गरेका छन् ।
कोहलपुरमा रहेका सरकारी कार्यालयमध्ये राजस्व अनुसन्धान कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको छ । हुम्लाबाट भर्खरै नियन्त्रणमा लिइएको करोडौं मूल्यको भेप यत्रतत्र सर्वत्र छरिएको थियो । कोहलपुरमै रहेको मालपोत र नापी कार्यालय, इलाका प्रशासन कार्यालय, नगरका वडा कार्यालयहरुमा पनि तोडफोड र आगजनी गरिएको छ ।

यो समाचार तयार पार्न रातिको ८ बजे उच्च अदालत, जिल्ला अदालत, आन्तरिक राजस्व कार्यालय र नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा पुग्दा आगो बलिरहेको थियो । प्रदर्शनकारीहरु कार्यालयका सामानहरु सडकमा ल्याएर आगो लगाउँदै गरेको अवस्था थियो ।