अल विदा इन्जिनियर सुलभराज श्रेष्ठ !

नेपालगन्ज : जेनजी आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर ज्यान गुमाएका नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझी निवासी २३ वर्षीय इन्जिनियर सुलभराज श्रेष्ठको शुक्रबार राप्ती नदीको सिधनिया घाटमा दाहसंस्कार गरिएको छ ।

उनको शवलाई शुक्रबार दिउँसो गृह जिल्ला बाँके ल्याएर उनले पढेको भेरी इंग्लिस मिडियम स्कुलमा अन्तिम श्रद्धाञ्जली दिएर नगर परिक्रमा गर्दै अपरान्ह राप्ती नदीमा अन्तिम संस्कार गरिएको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार मृतक शुलभराज श्रेष्ठ र बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतका छोरा एउटै कक्षाका सहपाठी भएका कारण एयरलाइन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रुपमा चार्टड विमानमा शव नेपालगन्ज ल्याइदिएर सहयोग गरेको हो । नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घाइते भएका श्रेष्ठलाई ट्रमा सेन्टरमा उपचारको क्रममा मृत घोषणा गरिएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको शव शुक्रबार नै पोस्टमार्टमा गरिएको थियो । काठमाडौंबाट नेपालगन्जको राँझा विमानस्थलमा साढे ३ बजेतिर शव नेपालगन्ज ल्याइएको हो ।
नेपालगन्ज १ धम्बोझीकै अर्का मृतक १९ वर्षीय आयुष थापाको शवलाई शनिबार मात्र दाहसंस्कार गरिनेछ । दैलेखबाट आफन्त आउन बाँकी रहेकाले उनको शव अस्पतालमा राखिएको छ । शोकमा डुबेका नेपालगन्जबासी दुबै शव ल्याउँदा राँझा विमानस्थलसम्मै पुगेका थिए । दाहसंस्कारमा पनि हजारौंको संख्यामा बाँकेबासीको सहभागिता रहेको थियो ।  स्व.श्रेष्ठलाई श्रद्धाञ्जली दिँदै धेरै जना नेपालगन्जबासीले लेखेका छन्, ‘अल विदा इन्जिनियर सुलभराज श्रेष्ठ ।’