जेन-जी आन्दोलनका मृतक आयुषको पनि दाहसंस्कार
नेपालगन्ज : काठमाडौंमा भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका १९ वर्षीय आयुष थापाको शनिबार दाहसंस्कार गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीका थापाको घरमा अन्तिम श्रद्धाञ्जली दिएर शवलाई नगर परिक्रमा गर्दै राप्ती नदीको सिधनीयाघाटमा दाहसंस्कार गरिएको हो । शुक्रबार नै काठमाडौंबाट नेपालगन्ज ल्याए पनि दैलेखबाट आफन्त आउन बाँकी रहेकाले शवलाई अस्पतालमा राखिएको थियो । जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका नेपालगन्ज १ धम्बोझीकै अर्का २३ वर्षका शुलभराज श्रेष्ठको भने शुक्रबार नै राप्ती नदीमा अन्तिम संस्कार गरिएको थियो । दुबै दाहसंस्कारमा हजारौंको संख्यामा बाँकेबासीको सहभागिता रहेको थियो ।