थारू महिला उत्थान केन्द्रको सामाजिक लेखापरीक्षण सम्पन्न

संजय आचार्य । गुलरिया
बर्दियाको थारू महिला उत्थान केन्द्र गुलरियाको सामाजिक लेखापरीक्षण शुक्रबार सम्पन्न भएको छ।
केन्द्रले शुक्रबार गुलरियामा आयोजना गरेको कार्यक्रमा ३०औं साधारण सभा र सामाजिक लेखापरीक्षण गरेको हो।
संस्थाका कोषाध्यक्ष सपना चौधरीले आर्थिक वर्ष ०८१र८२ को आय–व्यय विवरण प्रस्तुत गरेका थिइन्। चौधरीका अनुसार गत वर्ष संस्थाको कुल आय ४ करोड १० लाख ५३ हजार ८६२ रुपैयाँ रहेको थियो । जसमा ४ करोड आठ लाख रुपैयाँ दातृनिकाय (सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय गैसस) र २ लाख जसमा आन्तरिक स्रोत रहेको थियो । संस्थाको कुल खर्च ३ करोड ३४ लाख ९७ हजार भएको थियो ।

साधारणसभाले संस्थाको चालु आर्थिक वर्ष ०८२र८३ का लागि प्रस्तावित बजेट ३ करोड २१ लाख ६४ हजार २११ रुपैयाँ सर्वसम्मतिले पारित गरेको छ।
संस्थाले आर्थिक पारदर्शिताका लागि संस्थाले स्मार्ट एकाउन्ट र फामस सफ्टवेयरको प्रयोग, आन्तरिक तथा बाह्य लेखापरीक्षण र सामाजिक लेखापरीक्षणलाई निरन्तरता दिएको छ। सभाले आगामी वर्षका लागि लैङ्गिक समानता, आन्तरिक स्रोत वृद्धि, र सरोकारवालासँग सहकार्यलाई प्राथमिकता दिने योजना पारित गरेको छ।
सचिव सुष्मा चौधरीले प्रस्तुत गरेको संगठनात्मक तथा कार्य प्रगति प्रतिवेदन र सागर खड्का एण्ड एशोसिएटद्वारा लेखापरीक्षण (आर्थिक प्रतिवेदन) पनि सभाले अनुमोदन गरेको छ। सभाध्यक्ष ननकुमारी चौधरीले संस्थागत विकास, आर्थिक सुशासन र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता व्यक्त गरिन् ।
संस्थाकी उपाध्यक्ष ननकुमारी चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गुलरिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मुमकुमार मल्ल प्रमुख अतिथिका रूपमा थिए । कार्यक्रममा कार्यकारी निर्देशक प्रिजमा सिंह थारू, संस्थापक सदस्य, सरोकारवाला, सामाजिक अगुवा, पत्रकार, जनप्रतिनिधि र सहयोगी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। संस्थाको लैङ्गिक समन्यायीक आत्मनिर्भर समाजको सिर्जना भन्ने मूल नारा रहेको छ ।