लुम्बिनी प्रदेशमै पहिलो पटक पत्रकार महासंघ बाँकेले बनायो वेभसाइट !

                                                                                                                                                                                                                      https://www.fnjbanke.org.np

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेले पत्रकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साझेदार र नागरिकलाई प्रभावकारी सूचना प्रवाहका लागि आफ्नै वेभसाइट सञ्चालनमा ल्याएको छ । www.fnjbanke.org.np नामक वेभसाइटमा महासंघको कार्य समिति, सदस्यहरु, फोटो ग्यालरी, समाचार, विज्ञप्ती, सूचना, पत्रकारितासँग सम्बन्धित प्रकाशनहरु र आर्थिक गतिविधि स्तम्भ रहेका छन् ।

महासंघ बाँके शाखाले बडादशैं, दीपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा बुधबार आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले वेबसाइटको शुभारम्भ गरेका हुन् । प्रमुख अतिथि चौलागाईले बाँके शाखाले लुम्बिनी प्रदेशमै पहिलोपटक वेबसाइट शुभारम्भ गरेर अब्बलता देखाएको भन्दै वेबसाइटको निरन्तरता र अद्यावधिकमा ध्यान दिनुपर्ने बताए ।
बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्वअध्यक्षद्वय प्रेम केसी र निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, प्रेस संगठन बाँकेका सहसचिव सन्तोष विष्ट, क्रियाशील पत्रकार महिला बाँकेकी उपाध्यक्ष विमला चौधरीले चाडपर्व लक्षित शुभकामना दिएका थिए । श्रमजीवी पत्रकारको साझा संस्था महासंघले पत्रकारिताको व्यावसायिक विकास, श्रमजीवी पत्रकारको हकहितको रक्षा र प्रवर्द्धन तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्छ ।