जनयुद्धको आधार इलाकामा कमाण्डिङ गर्दै प्रचण्ड

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दिएर आफू जित्ने ढुक्कको निर्वाचन क्षेत्र मात्र छनौट गरेका छैनन्, १० वर्षे जनयुद्धको उद्गम थलो रुकुम/रोल्पामा २०६४ पछिको जितको साख जोगाउने धाउन्नमा छन्

शंकरप्रसाद खनालनेपालगन्ज
खेमबहादुर बुढारोल्पा
निराजन सिर्पालीरुकुम पूर्व

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुबो र फूलको मालामा ठाँटिएर बाजागाजासहित रुकुमपूर्वमा उम्मेदवारी दर्ता गरे। मयूर नाच नाच्दै कार्यकर्ता र मतदाताको मन जित्ने प्रयत्न गरे। पुराना दल र नेताप्रति जेन–जी पुस्ता आक्रोसित बनिरहेको बेला प्रचण्डले रुकुमपूर्व रोजेर आफू सुरक्षित हुन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।
संघीयता बाँडफाँटका बेला रुकुमलाई टुक्र्याइयो। लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा तीनवटा स्थानीय तह छन्। यो क्षेत्र साबिकको माओवादीकै पकेट क्षेत्र मानिन्छ। माओवादी सशस्त्र युद्धको अवशेष कहीँ भेटिन्छ भने त्यो रुकुमपूर्वमा मात्र हो भनेर माओवादी नेताहरू बताउँछन्। पटक–पटक पार्टी विभाजन हुँदा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र भर्खरै पार्टीबाट अलग्गिएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्माको रुकुमपूर्वमा खासै पकड नभएको प्रचण्डको बुझाई छ।

आधार इलाका जोगाउने प्रचण्ड दाउ

रुकुम र रोल्पा प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको १० वर्षे सशस्त्र युद्धको उद्गम स्थल हुन्। यी जिल्ला सशस्त्र युद्धका बेला माओवादीका आधार क्षेत्र थिए। शान्ति प्रक्रियापछि भएका सबै चुनावमा माओवादीले नै जित्दै आएको छ। संघीयतापछि पनि रोल्पा, पश्चिमरुकुम र पूर्वीरुकुमलाई आफ्नै आधार क्षेत्र मान्छ, तत्कालीन माओवादी (हालको नेपाली कम्युनिस्ट पार्टी)।
तर, माओवादी दर्जनौं घटकमा विभाजित भइसकेको छ। तत्कालीन माओवादीको मूल जरो नेकपा भएको छ। सशस्त्र युद्धका सहयोद्धाहरू मोहन वैद्य, विप्लव हुँदै जनार्दन शर्मालगायतका नेताहरू छुट्टिएर गए पनि नेपाली राजनीतिका चतुर खेलाडी प्रचण्ड कहिले पार्टी एकीकरण त कहिले निर्वाचनमा गठबन्धन गर्दै संसदीय निर्वाचनमा निर्णायक बनिरहेका छन्। प्रमुख सबै पार्टी एक्लाएक्लै चुुनावी मैदानमा उत्रिरहेको बेला प्रचण्डले अन्तिम चुनाव भन्दै रुकुम पूर्व गएका छन्। समाजवादको आधार तयार गर्न पनि पूर्वीरुकुमबाट उम्मेदवार बनेको उनी बताइरहेका छन्।

तर, धेरैले जित सुनिश्चित क्षेत्र खोज्दै रुकुम पुगेको टिप्पणी गरिरहेका छन्। कहिले रोल्पा, कहिले काठमाडौं, सिराहा, चितवन, गोरखा हुँदै रुकुमपूर्व पुग्नुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। एकै निर्वाचन क्षेत्रबाट निर्वाचन नलड्ने त प्रचण्डको बानी नै बसिसकेको छ। नेकपा निकट पत्रकार नरेन्द्र केसी प्रचण्डको रुकुमपूर्वको उम्मेदवारी दर्तालाई ‘जनयुद्ध’ को आधार इलाकामा जितको शाख जोगाउने रूपमा अथ्र्याउँछन्।

नेकपाबाट अलग्गिएर अर्कै पार्टी बनाएर पश्चिम रुकुममा जनार्दन शर्माले उम्मेदवारी दिएका छन्। रुकुमपूर्व बसेर आफ्ना उम्मेदवारको पक्षमा चुनावी प्रचार मात्र गरिरहेका छैनन्, शर्माले प्रचण्डलाई ‘चेस खेलमा जस्तै चेक’ पनि दिइरहेका छन्। रुकुमपश्चिम र रोल्पाको चुनावी अभियानलाई प्रोत्साहन गरिरहेका छन्। प्रचण्डलाई काउन्टर दिन रुकुमपूर्वमा जनार्दनले सहिद परिवारलाई उम्मेदवार बनाएका छन्। रुकुम र रोल्पा जस्ता आधार क्षेत्र सुरक्षित भएकाले नेकपा ढुक्कले जित्ने दावी गर्दै आएको छ।

हिजोको माओवादी आज अलगअलग पार्टीबाट चुनाव लडिरहेकाले आधार क्षेत्रको नतिजा कस्तो होला रु भन्ने चासो धेरैलाई छ। प्रचण्डलाई भने चिन्ता छ। संघीयतापछिका निर्वाचनमा यी आधार क्षेत्र माओवादीले चुनाव जितेको भए पनि बहुदलीय प्रतिस्पर्धा र नयाँ शक्तिको प्रवेशले चुनावी सरगर्मी बढ्ने गर्छ। माओवादी (हाल नेकपा) को हरेक चुनावमा २०६४ सालको मत परिणामभन्दा घट्दो क्रममा देखिन्छ भने अन्य दलको बढ्दो क्रममा। त्यसैले पछिल्लो चुनावलाई आधार क्षेत्रको चुनाव पेचिलो बन्ने अनुमान गरिएको छ। अन्य क्षेत्रमा असुरक्षित महसुस हुनु र आधार क्षेत्र जोगाउने मनसायले प्रचण्ड पूर्वीरुकुम गएको आंकलन गरिएको छ।

नेकपाले परम्परागत आधार क्षेत्रलाई आफ्नो राजनीतिक शक्ति आधारको रूपमा निरन्तरता दिने दाबी गर्दै आएको भए पनि अहिलेको चुनावी परिदृश्यले प्रतिस्पर्धा र मत विभाजनको संकेत देखिएको छ। पूर्वीरुकुम नेकपाको सुरक्षित क्षेत्र मान्ने गरिन्थ्यो, जहाँ कांग्रेस र एमालेजस्ता दलले कमजोर प्रतिद्वन्द्वीको रूपमा मात्रै सहभागिता जनाइरहेका थिए। जुन कुरा विगतका निर्वाचन परिणामले पनि देखाउँछ।

२०७४ पछि रुकुम टुक्रिएर बनेको रुकुम पूर्वमा पहिलोपटक नेकपा माओवादी केन्द्रका कमला रोका विजयी भएकी थिइन्। कांग्रेसका हरिशंंकर घर्ती दोस्रो भएका थिए। २०७९ प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर विजयी भए। यो निर्वाचनमा एमालेका कैलाशकुमार मल्ल दोस्रो भए। अहिले पनि रुकुमपूर्वमा नेकपापछि कांग्रेस र एमाले प्रतिस्पर्धामा छन्। रुकुमपूर्वका एमालेका पूर्र्वजिल्ला अध्यक्ष टोपबहादुर ओली नेकपा प्रवेश गरी प्रचण्डको चुनावी कमान्डर बनेर हिँडेकाले उनको प्रतिस्पर्धा कांग्रेस हुने देखिन्छ।

रोल्पामा त्रिपक्षीय भिडन्त
माओवादी जनयुद्धको उद्गम थलो रोल्पामा भने त्रिपक्षीय भिडन्त हुने देखिएको छ। नेकपा माओवादी पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले रोल्पाबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने कुराले जिल्लाको चुनावी सरगर्मी बढ्ने चर्चा थियो। पार्टीका जिल्ला इन्चार्ज सम्झना घर्ती पार्टीको नेतृत्व यो निर्वाचनमा सहभागी नहुने नीतिले विप्लवको उम्मेदवारी नदिएको बताउँछिन्।

नेकपाबाट वर्षमान पुनको उम्मेदवारी करिब–करिब पक्का पक्की नै थियो। विप्लवले पनि गृह जिल्ला नै रोजेपछि उनले चुनौती ठानेका थिए। अहिले विप्लवको पार्टीबाट चुडामणी वली ‘आदर्श’ उम्मेदवार बनेका छन्।
माओवादी छोडेका जनार्दन शर्माले त रोल्पामा संगठन बनाउन सके न त उम्मेदवारी नै दिन सके। जसका कारण अहिले नेकपाका वर्षमान पुनस् राहत महसुस गरिरहेका छन्।

उनले २०६४ पछिका निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वीमै चित्त बुझाइरहेका कांग्रेस एमालेसँग जितका लागि सामना गर्नुपर्ने ठानिरहेका छन्। जिल्लाका गौरवका योजना मदन भण्डारी मार्ग, सहिद मार्ग, विद्युतीकरण लगायतका विषयलाई चुनावी एजेन्डा बनाइरहेका छन्। माओवादी विभाजनको फाइदा लिने दाउमा एमाले र कांग्रेस छन्।

रोल्पामा विप्लव नेतृत्वको माओवादीबाट युद्धमा भाइ गुमाएका चूडामणि वली ‘आदर्श’ उम्मेदवार। कांग्रेसले अर्थविद् डा। सुदनकुमार वली र एमालेले पूर्वसांसद गोकुल घर्तीमगरलाई उम्मेदवार खडा गरेका छन्। रोल्पामा रास्वपाबाट बालराम थापा चुनावी मैदानमा छन्। रास्वपाले पूर्वीरुकुम, पश्चिमरुकुम र रोल्पाबाट उम्मेदवार खडा गरेको छ। यसपालि रास्वपाको पनि प्रभाव पर्न सक्ने अनुमान गरिएको छ। यी तीन जिल्लामा पूर्वमाओवादी तीन अलग पार्टीबाट चुनाव लड्दैछन्।

नेकपाले अब केवल विगतको विरासतका आधारमा मात्र मत आकर्षित गर्न नसक्ने अवस्थामा पुगेको छ। नयाँ तथा साना दलहरूले नयाँ रणनीति र स्थानीय मुद्दाहरूलाई प्राथमिकता दिएका छन् भने, पुराना दलका उम्मेदारहरूले अनुभव र इतिहासलाई मतदाता माझ पुर्‍याउन सक्रिय छन्। संघीयता अघि रोल्पामा दुई निर्वाचन क्षेत्र थिए। २०४८ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा संयुक्त जनमोर्चा नेपालका वरमान बुढाले जितेका थिए। उनले पञ्चायतकालमा जित्दै आएका बालाराम घर्ती मगरलाई पछारेका थिए। रोल्पाको क्षेत्र नं. २ मा जनमोर्चाका कृष्णबहादुर महरा विजयी भएका थिए। कांग्रेसका अमृतबहादुर घर्ती दोस्रो स्थानमा थिए।

२०५१ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोल्पा १ बाट राप्रपाका बालाराम घर्तीले फेरि बाजी मारेका थिए। कांग्रेसका अमृतबहादुर घर्ती दोस्रोपटक पराजित भएका थिए। क्षेत्र नं. २ मा भने कांग्रेसका सुरेन्द्र हमालले बाजी मारेका थिए। एमालेका कुमार दसौदी दोस्रो भए।
२०५६ सालमा रोल्पाको दुबै क्षेत्रमा कांग्रेसले जितेको थियो। क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका लेखनाथ आचार्य र क्षेत्र नं. २ बाट कांग्रेसका सुरेन्द्र हमाल विजयी भए। १ नं. मा राप्रपा र २ नं. मा एमाले दोस्रो भएका थिए।

२०६४ संविधानसभा निर्वाचनमा ९नेकपा माओवादी०की जयपुरी घर्ती विजयी भइन् भने क्षेत्र नं. २ मा ९नेकपा माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए। १ नं. मा कांग्रे र २ नं. मा एमाले दोस्रोे भएका थिए।
२०७० दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा १ बाट (एकीकृत नेकपा) कृष्णबहादुर महरा र सोही पार्टीबाट क्षेत्र नं. २ मा ओनसरी घर्ती निर्वाचित भएकी थिइन्। १ नं. मा कांग्रेस र २ नं. मा एमाले निकटतम् प्रतिद्वन्द्वी बनेका थिए।

२०७४ प्रतिनिधिसभा सदस्य निर्वाचनपछि रोल्पा एउटा मात्र निर्वाचन क्षेत्र बनेको छ। यो निर्वाचनमा ९नेकपा माओवादी केन्द्र०का वर्षमान पुन निर्वाचित भएका थिए। कांग्रेसले फेरि पनि दोस्रोमै चित्त बुझाउनु परेको थियो।
२०७९ प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि (नेकपा माओवादी केन्द्र) वर्षमान पुन नै निर्वाचित भएका थिए। योे निर्वाचनमा भने एमाले दोस्रो भएको थियो। माओवादी विभाजनको फाइदा उठाउँदै विगतका निर्वाचनको हारको बदला लिने दाउमा कांग्रेस र एमाले छन्।

रुकुमपश्चिम : मत चोरेर चुनाव जित्ने जनार्दन दाउ

रुकुमपश्चिममा टिकट वितरणमा कांग्रेसभित्र आन्तरिक विवाद छ। जिल्लामा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको बाहुल्यता छ। तर, पार्टीको सिफारिसविपरीत नवनिर्वाचित गगन थापाका विश्वास पात्र राजु केसीले टिकट पाएपछि सामाजिक सञ्जालमा पनि विवाद छचल्किएको थियो।

जिल्लाबाट पार्टी सभापति प्रेमप्रकाश ओली र पूर्वराज्यमन्त्री गोपालजी जंग शाहको नाम सिफारिस गरिएको थियो, तर टिकट केसीले पाए। जिल्ला सभापति ओलीले ‘जिल्लाबाट उम्मेदवार नै सिफारिस नभएका र राजनीतिमा योगदान नभएकालाई पनि उम्मेदवार बनाउनु पर्दा र जिल्ला सभापतिलाई एक पटक पनि नसोधी गरेको निर्णयले कत्तिको सार्थकता पाउला’ भनेर फेसबुकमा स्टाटस लेखेर प्रतिकात्मक रूपमा विरोध जनाइसकेका छन्।
कांग्रेसका जिल्ला कार्यकर्ताले पनि टिकट वितरणको खुलेआम विरोध गरेर स्टाटस लेखेका छन्। २०६४ सालपछिका निर्वाचनमा यो क्षेत्रमा जनार्दन शर्माले नै जित्दै आएका छन्। विगतका निकटतम् प्रतिद्वन्द्वीबीचको आन्तरिक कलहको फाइदा शर्माले लिने संकेत गरिसकेका छन्। रुकुमका पत्रकार मेघराज खड्का नेपाल कम्युनिस्ट पार्टी गठन गर्दा जनार्दन अलग्गिए पनि सांगठनिक संरचनामा मूलपार्टी नेकपामा नै दुईतिहाइ नेता कार्यकर्ता समावेश भएको बताउँछन। रुकुमपश्चिममा सांंगठनिक रूपमा कमजोर भए पनि पटक–पटक प्रभावकारी मन्त्री बन्दा कमाएको राष्ट्रिय नेताको छवि र गुडवीललाई शर्माले क्यास गर्न खोजिरहेका छन्।
उनी विगतमा विकास निर्माणमा गरेको योगदान पनि मत माग्ने आधार बनाइरहेका छन्। उनी आफ्नो बाहेकका दलका मत चोर्न सकिन्छ कि भन्ने धाउन्नमा छन्। नेकपाका उम्मेदवार गोपाल शर्मा अनल विगतका निर्वाचनमा जनार्दनको चुनावी कमान्डर बनेर नेता कार्यकर्ताबीच घुलमिल भएका व्यक्ति हुन्। बलियो संगठन र विगतको चुनावी मत परिणामको विश्लेषण गर्दा उनी सजिलै चुनाव जित्न सक्नेमा आशावादी छन्। रुकुमपूर्वबाट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिएपछि उनलाई ढाडस भएको छ। विगतमा पार्टीले अभियान सञ्चालन गर्र्दा र उम्मेदवारी दर्तापछि प्रचण्ड पटक–पटक रुकुमपश्चिम पुगेका छन्। चुनावअघि उनको प्राथमिकता पनि रुकुम रोल्पा नै हुने देखिन्छ।
प्रचण्डले केही समय अघि केही व्यक्तिले छोेड्दैमा पार्टीलाई खासै प्रभाव नपर्र्ने भनेर जनार्र्दनको खेदो खनेका थिए। शर्मा भने आफू पार्टीबाट अलग्गिए पनि दोष जति सबै प्रचण्डलाई दिइरहेका छन्। उम्मेदवारी दर्ता गरेसँगै पत्रकारसँगको भेटमा शर्माले भनेका थिए, ‘मेरो यो अन्तिम पटककोे उम्मेदवारी हो। मलाई जित हारको चिन्ता छैन। जनताप्रति विश्वस्त छु।’ रुकुुम पश्चिममा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले कति मत ल्याउँछन् भन्ने कुराले जित हारको निर्धारण हुने देखिन्छ।
रुकुममा पनि संघीयता अघि दुई निर्वाचन क्षेत्र थिए। संंघीयताले दुई जिल्ला बनायो। २०६४ अघि कांग्रेस र राप्रपाको पकड क्षेत्र बनेको यो जिल्लामा २०६४ पनि साविकको माओवादीकै नेताले जितिरहेका छन्।

२०४८ रुकुमको निर्वाचन क्षेत्र नंं. १ मा संयुक्त जनमोर्चा नेपालका खड्गबहादुुर बुढा निर्वाचित भएका थिए। कांग्रेस दोस्रो भयो। रुकुमको क्षेत्र नंं. २ बाट नेपाली कांग्रेसका गोपालजी जंग शाह विजयी भएका थिए। जनमोर्चाका जनार्दन शर्मा निकटतम् प्रतिद्वन्द्वी भए। तिनै शर्मा २०६४ यता नियमित जितिरहेका छन्।
२०५१ को निर्वाचनमा रुकुम क्षेत्र नंं. १ बाट कांग्रेसका कृष्णप्रसाद उपाध्याय ९गौतम०ले जिते। एमालेका हस्तबहादुर केसी निकटतम् प्रतिद्वन्द्वी बने। रुकुम क्षेत्र नंं. २ मा भने कांग्रेसका गोपालजी जंग शाह विजयी भए। राप्रपाका ध्रुवविक्रम शाहले दोस्रोमा चित्त बुझाए।
२०५६ सालको निर्वाचनमा रुकुम क्षेत्र नंं. १ मा कांग्रेसका केशरमान रोक्का विजयी भएका थिए। एमालेका नन्दलाल शर्मा निकटम् प्रतिद्वन्द्वी भए। रुकुम क्षेत्र नंं. २ मा भने नेकपा ९एमाले०बाट तीर्था गौतम निर्वाचित भइन्। अघिल्लो निर्वाचनका विजेता गोपालजी जंग शाह पराजित भए।
२०६४ संविधानसभा निर्वाचनमा (नेकपा माओवादी)का जुुनुकुमारी रोका ओली निर्वाचित भइन्। साविक विजेता कांग्रेसका केशरमान रोक्का पराजित भएका थिए। क्षेत्र नंं. २ बाट नेकपा माओवादीका जनार्दन शर्मा निर्वाचित भए। कांग्रेसका प्रेमप्रकाश ओली क्षेत्रीले दोस्रोमै चित्त बुझाए।
२०७० दोस्रो संविधानसभा निर्वाचनमा एकीकृत नेकपाका गणेशमान पुन विजयी हुँदा कांग्रेसका कृष्णबहादुर रोकाय दोस्रो भए। क्षेत्र नंं. २ बाट एकीकृत नेकपाका जनार्दन शर्मा विजयी भए। कांग्रेसका गोपालजी जंग शाहले पराजय बेहोरे।
२०७४ पछि रुकुम टुक्रिएर रुकुमपूर्व र रुकुमपश्चिम भयो। रुकुमपूर्वमा नेकपा माओवादी केन्द्रका कमला रोका र रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा विजयी हुँदा कांग्रेसका गोपालजी जंग शाहले हारको शृंखला दोेहोरियो। २०७९ प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर विजयी भए। एमालेका कैलाशकुमार मल्ल दोस्रो भए।
रुकुम पश्चिमबाट भने नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा चौथोपटक विजयी भए। एमालेका नन्दराम देवकोटा दोस्रो भएका थिए। जिल्लामा कांग्रेस, एमालेका साथै रास्वपाले मतले पनि जितका लागि निर्णायक भूमिका निर्वाह गर्ने देखिन्छ। माओवादी आधार इलाका सबै जिल्लाको अवस्था उस्तै रहेको छ। स्रोत : अन्नपूर्ण पोस्ट् दैनिक