सत्ती भन्सारको राजस्व संकलन किन ओरालो लाग्यो ?

मानबहादुर ठकुल्लाटीकापुर

कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिकमा लक्ष्यको ६० प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।
कार्यालयले गत वर्ष लक्ष्यको ११९ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । १२ करोड सात लाख ३२ हजारको लक्ष्य रहेकामा १४ करोड ३७ लाख ८२ लाख राजस्व उठाएको थियो ।
टीकापुर नगरपालिका वडा नं. ९ खक्रौलामा रहेको भन्सार कार्यालयले गएको आठ महिनामा लक्ष्यको ९ करोड ६२ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयको १५ करोड ८४ लाख ४९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । फागुन महिनाको मसान्तसम्म ९ करोड ६२ लाख ४१ हजार राजश्व सङ्कलन गरेको छ ।
सत्ती भन्सार कार्यालय खक्रौलाले साउन महिनामा १ करोड २८ लाख ९० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भएता पनि ६३ लाख ३७ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख चक्रबहादुर सोनीले बताउनु भयो । उहाँका अनुसार सबैभन्दा बढी मंसिर महिनामा १ करोड ६७ लाख ७४ हजार अर्थात् लक्ष्यको १३८.५१ प्रतिशत राजस्व सङ्कलन भएको थियो । मंसिर महिनामा भन्सारले १ करोड २१ लाख १० हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो ।
कार्यालयले असोज, मंसिर, पौष र माघमा चार महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको थियो । साउन, भदौ, कार्तिक र फागुनमा लक्ष्य पूरा गर्न सकेको छैन । भन्सार प्रमुख सोनीले चार महिनामा भन्सारले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने दाबी गर्नुभयो । ‘सामानको आयात कतिसम्म हुन्छ भन्ने कुराले राजस्व सङ्कलनको लक्ष्य निर्धारण गर्ने हो’ उहाँले भन्नुभयो, ‘लगभग अहिलेसम्मको भन्सारबाट आयात हुने सामानको अवस्था हेर्दा लक्ष्य पुरा हुनेमा ढुक्क छौँ ।’
उहाँले खुला सिमानाका कारण कैयौँ चोरीपैठारीका घटना हुने हुँदा राजस्व सङ्कलनमा चुनौती देखिएको प्रष्ट पार्नुभयो । भन्सार प्रमुख सोनीले भन्सारको स्तरोन्नति भएर क्वारेन्टाइन स्थापना भए राजश्वमा उल्लेख्य वृद्धि हुने बताउनुहुन्छ ।