बर्दियामा विपद् जोखिम न्यूनीकरण गर्न १ हजार ८७५ स्वयंसेवक उत्पादन गरिँदै

संजय आचार्यगुलरिया
बर्दियामा विपद् जोखिम न्यूनीकरण गर्न १ हजार ८७५ स्वयंसेवक उत्पादन गर्न सुरु गरिएको छ ।
प्रयास २ परियोजनाको सहयोग तथा जिल्ला विपद् व्यवस्थापन समिति बर्दिया तथा स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा शसस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वाटर बर्दियाको आयोजनामा विपद् जोखिम न्यूनीकरणमा समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सामुदायिक विपद् स्वयंसेवक आधारभूत तालिम तथा पालिका स्तरीय विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिएको हो । बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बिहीबार तालिमको शुभारम्भ गर्नु भएको हो । तालिम आगामी १८ वैशाखसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा शसस्त्र प्रहरी बल नं. ३१ गण हेडक्वाटर बर्दियाका प्रहरी उपरीक्षक दिनेशकुमार महतले तालिम सम्बन्धी जानकारी दिनुहुँदै बर्दिया जिल्लाका ७५ वटा वडाबाट प्रत्येक वडाबाट २५ जनाका दरले जम्मा १,८७५ जना स्वयंसेवकलाई चरणबद्ध रूपमा तालिम प्रदान गरिने जानकारी दिनुभयो । तालिममा ९ जना प्रशिक्षकको टोलीले प्रशिक्षण दिने व्यवस्था गरिएको छ ।
तालिममा विपद् व्यवस्थापन सम्बन्धी आधारभूत ज्ञान, बाढी पहिरो उद्दार, डोरी प्रयोगबाट उद्दार, आगलागी नियन्त्रण, भूकम्प जोखिम न्यूनीकरण, सडक तथा यान्त्रिक दुर्घटना उद्धार, प्राथमिक उपचार तथा खोज तथा उद्दार कार्य लगायत विषयमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।

यसैबीच, भेरी वातावरणीय विशिष्टता समूहले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाका आठ वटै स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस सम्बन्धमा गुलरिया नगरपालिकामा पालिका स्तरीय परियोजना शुभारम्भ तथा समन्वय बैठक सम्पन्न गरिएको थियो।
परियोजना संयोजक खेमराज भण्डारीले ‘प्रयास परियोजना’ अन्तर्गत मार्चदेखि अगष्टसम्म ६ महिनाको अवधिमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाबाट करिब १५० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । स्थानीय सरकारसँग सहकार्य गर्दै विपद् व्यवस्थापन योजना निर्माण, जोखिम पहिचान तथा समुदायलाई तयारी अवस्थामा राख्ने कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।
बीग्रुपका निर्देशक डम्मर सुनारले परियोजनाको कुल बजेट ५७ लाख ६२ हजार १ सय रुपैयाँ रहेको र उक्त रकम सबै पालिकामा दामासाही रूपमा खर्च गरिने जानकारी दिनुभयो । बर्दिया तराई क्षेत्रमा पर्ने भएकाले बाढी तथा जलवायु परिवर्तनको जोखिम उच्च छ । परियोजनाले विशेष गरी बाढी, डुबान तथा जलवायु परिवर्तनजन्य जोखिम न्यूनीकरणमा योगदान गर्ने विश्वास लिइएको छ । कार्यक्रम तथा तालिमहरूले विपद् पूर्वतयारी, जनचेतना अभिवृद्धि तथा समुदाय स्तरमा उद्दार र राहत कार्यलाई प्रभावकारी बनाउनेछ ।