पत्रकार जयनारायण शाहको एकल फोटो प्रदर्शनी हुँदै
नेपालगन्ज : पत्रकार जयनारायण शाहले खिचेका फोटोहरुको नेपालगन्जमा एकल फोटो प्रदर्शनी हुने भएको छ ।
अन्तरालको आयोजना तथा व्यवस्थापनमा शाहले खिचेका फोटोहरुको आगामी जेठ ११ र १२ गते विटनेश अफ टाइम शीर्षकमा एकल फोटो प्रदर्शनी आयोजना हुने भएको हो । प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका महत्वपूर्ण क्षणहरूलाई फोटोको माध्यमबाट प्रस्तुत गरिनेछ। विटनेश अफ टाइम प्रदर्शनीले समयको साक्षी बनेका दृश्य, पात्र, नेपाली समाज , भेषभूषा , संस्कृति, दैनिक जीवन र प्रकृतिलाई तस्बिर मार्फत उजागर गर्ने उद्देश्य लिएको छ। प्रदर्शनीमा राखिएका तस्बिरले दर्शकलाई मानव सभ्यता र प्रकृतिका विविध आयाम अनुभव गराउने विश्वाश गरिएको छ ।
‘कहिलेकाहीँ क्षणहरू केवल स्मृति मात्र हुँदैनन्, तिनीहरू इतिहास बन्छन्’ पत्रकार शाह भन्छन्, ‘तिनै क्षणहरूलाई जिवन्त राख्ने प्रयास यो फोटो प्रदर्शनी हो।’ गएको डेढ दशकमा मूलुकले विभिन्न घटनाक्रम बेहोर्नु पर्यो । राजनीतिक परिदृश्यहरु फेरिए। यस क्रममा धेरै आन्दोलन र झडपहरु भए। भूकम्प, नाकाबन्दी , कोभिड महामारी र लकडाउनले आम जनजीवन अत्यन्त कष्टप्रद रह्यो। यो सबै कालखण्डका तस्बिर पत्रकार शाहले खिचेका छन् । ‘यात्राका दौरान जहाँ जहाँ पुगें त्यो ठाउँको जनजीवन, रहनसहन, भेषभूषा , बस्ती , प्रकृति ,फूलहरु ,सुन्दर दृश्यहरु , पदयात्रामा भेटिएका मानिसहरुका तस्वीरहरु मैले क्यामेरामा कैद गरें’, शाह भन्छन्प्र, ‘दर्शनीबाट अब यी तस्बिर साझा गर्दैछु ।’
यस प्रदर्शनीमार्फत नयाँ पुस्तामा फोटोग्राफीप्रति रुचि अभिवृद्धि गर्नुका साथै समाजको जिवन्त तस्बिर प्रस्तुत गर्ने लक्ष्य राखिएको आयोजक अन्तरालले जनाएको छ। समय, समाज र स्मृतिको कथा बोकेका यी तस्वीरहरू अवलोकन गर्न सम्पूर्ण कलाप्रेमी, विद्यार्थी सञ्चारकर्मी तथा आम सर्वसाधारणलाई आयोजक अन्तरालले आमन्त्रण गरेको छ।








