बार र बेञ्चबीच पारस्परिक सम्मान तथा मर्यादा अपरिहार्य : न्यायाधीश दाहाल

नेपालगन्ज : बाँके जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालले न्यायीक प्रणालीप्रति जनविश्वास कायम राख्न इजलास र कानून व्यवसायीबीचको पारस्परिक सम्मान तथा मर्यादा अपरिहार्य रहेको बताउनु भएको छ।
नेपाल बार काउन्सिलद्वारा अधिवक्ता तहको ३४औँ परीक्षा उत्तीर्ण गरेका नवप्रवेशी कानून व्यवसायीहरूका लागि शनिबार र आइतबार नेपालगन्जमा आयोजित अभिमुखीकरण तथा प्रमाणपत्र वितरण कार्यक्रमको लाई मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै न्यायाधीश दाहालले कानून व्यवसायीले इजलासमा अवाञ्छित गतिविधि गरेमा आवश्यक कारबाहीका लागि नेपाल कानून व्यवसायी परिषद्मा लेखी पठाउन सकिने बताउनुभयो।

उहाँले भन्नुभयो, “इजलासको मर्यादा कानून व्यवसायीले राख्नुपर्छ र कानून व्यवसायीको मर्यादा इजलासले कायम गर्नुपर्छ । न्याय सम्पादन प्रक्रियामा दुवै पक्षको जिम्मेवारी समान रूपमा महत्वपूर्ण रहेको हुन्छ ।”
नवप्रवेशी कानून व्यवसायीलाई पेशागत यात्राबारे मार्गदर्शन गर्दै उहाँले कानून व्यवसायको प्रारम्भिक चरणमा कडा मेहनत र कम आम्दानी, त्यसपछि धेरै काम र धेरै आम्दानी तथा अन्तिम चरणमा कम काम र बढी आम्दानीको अवस्था आउने भएकाले प्रत्येक कानून व्यवसायीले आफ्नो विशिष्ट पहिचान र विशेषज्ञताको “ब्राण्ड” विकास गर्नुपर्नेमा जोड दिनुभयो।
पछिल्लो समय सामाजिक सञ्जाल, सञ्चारमाध्यम तथा समाजबाट मुद्दाका तथ्य र प्रमाण नबुझी गरिने टिप्पणी तथा आरोपले न्याय सम्पादन प्रक्रियालाई प्रभावित पार्ने गरेको उल्लेख गर्दै उहाँले अदालतले केवल तथ्य, प्रमाण र कानूनका आधारमा निर्णय गर्ने स्पष्ट पार्नुभयो।
बहसको गुणस्तरबारे चर्चा गर्दै न्यायाधीश दाहालले कानून व्यवसायीले मुद्दाको मिसिल मात्र अध्ययन गरेर नपुग्ने, तथ्य, कानून तथा सान्दर्भिक नजिरहरूको समेत गहिरो अध्ययन गरी इजलास समक्ष प्रस्तुत गर्नुपर्ने बताउनुभयो। उहाँले बहसका क्रममा भाषाको संयमित र विवेकपूर्ण प्रयोग गर्न, साक्षीको वकपत्र गराउँदा साक्षीको प्रत्यक्ष वा परोक्ष हैसियतको मूल्याङ्कन गर्न तथा निरन्तर अध्ययन र मेहनत मार्फत पेशागत दक्षता अभिवृद्धि गर्न सुझाव दिनुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै सार्वजनिक सरोकार कानून व्यवसायी समूहका सह–संयोजक तथा कानून पत्रकार समाजका सचिव अधिवक्ता वसन्त गौतमले न्याय सम्पादन प्रक्रियामा कानून व्यवसायीको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले प्रत्येक कानून व्यवसायी अध्ययनशील, कर्तव्यनिष्ठ तथा पेशागत मूल्य–मान्यता प्रति प्रतिबद्ध हुनुपर्ने बताउनुभयो।
उहाँले तल्लो अदालतबाट त्रुटिपूर्ण फैसला भए उच्च अदालतले सच्याउन सक्ने भए पनि कानून व्यवसायीले गलत दाबी वा त्रुटिपूर्ण ढंगले मुद्दाको उठान गरेमा त्यसको प्रत्यक्ष असर सेवाग्राही पक्षलाई पर्ने उल्लेख गर्नुभयो। कानून व्यवसाय केवल पेशा मात्र नभई सेवा पनि भएकाले न्यायका उपभोक्तालाई गुणस्तरीय कानूनी सेवा प्रदान गर्नु प्रत्येक कानून व्यवसायीको दायित्व भएको उहाँले बताउनुभयो।
नेपाल बार काउन्सिलका पार्षद अधिवक्ता र्इश्वरीप्रसाद ज्ञवालीले बार काउन्सिलले कानून व्यवसायीलाई पेशागत मार्गदर्शन गर्ने संस्थाको रूपमा काम गरिरहेको उल्लेख गर्दै नवप्रवेशी कानून व्यवसायीहरूले आफ्नो पेशागत यात्रामा आउने चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै सफल गन्तव्यतर्फ अघि बढ्नुपर्ने बताउनुभयो।
उहाँले बार काउन्सिलले कानून व्यवसायीहरूको दक्षता अभिवृद्धिका लागि विभिन्न विषयगत तालिम सञ्चालन गर्दै आएको जानकारी दिँदै यस्ता तालिममा “पहिले निवेदन दिनेले पहिले अवसर पाउने” व्यवस्था रहेको बताउनुभयो। नवप्रवेशी कानून व्यवसायीलाई प्रमाणपत्र वितरण गर्दै उहाँले पेशागत शपथ तथा आचारसंहिताको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो।
वरिष्ठ अधिवक्ता भोला सिंह हमालले कानून व्यवसायमा सफलता प्राप्त गर्न नियमितता, लगनशीलता र धैर्यता अपरिहार्य रहेको बताउनुभयो। अदालतको कामकारबाहीबारे असन्तुष्टि भए अदालत परिसरका क्यान्टिन वा अनौपचारिक स्थलमा टिप्पणी गर्ने प्रवृत्तिले न्यायालयप्रतिको जनआस्था कमजोर बनाउने भएकाले त्यस्ता विषय इजलासमै कानूनी तर्कका आधारमा उठाउनु उपयुक्त हुने उहाँको भनाइ थियो।
उहाँले कानून व्यवसायीले कहिल्यै पनि आफ्नै पक्षको अहित हुने कार्य गर्न नहुने र सधैं पेशागत धर्म तथा नैतिक जिम्मेवारी निर्वाह गर्दै धैर्य र समर्पणका साथ पेशालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता पवनकुमार गुप्ताले कानून व्यवसाय मूलतः सेवामूलक पेशा भएकाले कानून व्यवसायीले पक्षकारको हितलाई केन्द्रमा राखी इमान्दारिता, कर्तव्यनिष्ठा र उत्तरदायित्वका साथ सेवा दिनुपर्ने बताउनुभयो।
त्यसैगरी बाँके जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता पुनम श्रेष्ठले कानून व्यवसाय चुनौतीपूर्ण पेशा भएको उल्लेख गर्दै पेशागत मर्यादा, अनुशासन र नैतिकतालाई आत्मसात् गर्दै पक्षकारको हितमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल बार काउन्सिलका लुम्बिनी प्रदेश पार्षद अधिवक्ता र्इश्वरीप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अधिवक्ता पूर्ण ढकालले गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ अधिवक्ताहरू गिरवर प्रसाद अग्रवाल, श्याम गौतम, ध्रुव बश्याल, नेपालगन्ज उच्च बारका सचिव अधिवक्ता कुसुमा सुवेदी, अदालत बार एशोसिएसनका पूर्वअध्यक्ष मेहर सिंह खत्री लगायतको उपस्थिति रहेको थियो।
दुई दिनसम्म सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा वकालत सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमको समापनसँगै अधिवक्ता परीक्षामा उत्तीर्ण भएका ३६ जना नवप्रवेशी कानून व्यवसायीलाई नेपाल बार काउन्सिलले अधिवक्ताको प्रमाणपत्र तथा कानून व्यवसायीको लोगो प्रदान गरेको थियो। मुख्य अतिथि जिल्ला न्यायाधीश दाहालसहित अन्य अतिथिहरूले नवप्रवेशी कानून व्यवसायीलाई प्रमाणपत्र वितरण गर्दै सफल पेशागत यात्राको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नवप्रवेशी कानून व्यवसायीहरूको तर्फबाट सुशीला न्यौपाने र सर्वदेश ओझाले अभिमुखीकरण कार्यक्रमबाट कानून व्यवसायका व्यावहारिक, नैतिक तथा पेशागत पक्षबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको बताउँदै व्यवसायिक मर्यादा कायम राख्दै पेशागत जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नवप्रवेशी कानून व्यवसायीहरूलाई कानून व्यवसायीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी लिखित प्रतिज्ञापत्रमा हस्ताक्षरसमेत गराइएको थियो। यसलाई पेशागत नैतिकता, अनुशासन र उत्तरदायित्व सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।