लायन्स क्लबको आयोजनामा १२५ पिन्ट रगत संकलन

नेपालगन्ज : लायन्स क्लबको आयोजनामा आइतबार नेपालगन्जमा १२५ पिन्ट रगत संकलन भएको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका एरिया नं. ४ ले नेपालगन्ज उपमहानगरपालिकासँग संंयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाहरुको साझेदारीमा गरेका थिए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, महिला क्रिकेटका पूर्वराष्ट्रिय कप्तान नेरी थापा, चिकित्सक, अधिवक्ता, सामाजिक अभियन्ता, शिक्षक, विद्यार्थीले रक्तदान गरेका थिए । जेन्जी पुस्ताका विद्यार्थीले पहिलो पटक रक्तदान गरेको अनुभव संगालेका थिए ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका एरिया नं. ४ का एरिया चिफ पुष्करबहादुर खड्काको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमको शुभारम्भ नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गर्नु भएको थियो ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, डिष्ट्रिक गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठ, बरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल रेडक्रस सोसाइटी बाँकेको प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर बस्नेत, लायन्सकर्मी, कलेजका विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

विश्वरक्तदाता दिवसको अवसरमा जिल्लामा संस्थागत रुपमा नियमित रक्तदान कार्यक्रम आयोजना गर्ने जनमत अद्र्धसाप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुकेलाई सम्मान गरिएको थियो । २०६३ सालमा जनमत रजत वर्षको अवसरमा आयोजना गरिएको रक्तदानको त्रैमासिक कार्यक्रम आगामी ६ असारमा ६९औं श्रृङ्खला पुग्दैछ ।