मानव बेचबिखनविरुद्ध बर्दियामा २०औँ राष्ट्रिय दिवस मनाइयो

संजय आचार्यगुलरिया
बर्दियाको गुलरियामा मानव बेचबिखनविरुद्ध २०औँ राष्ट्रिय दिवस मनाइएको छ।
माइती नेपाल बर्दियाको सूचना तथा परामर्श केन्द्रको आयोजना तथा फ्री अ गर्लको सहयोगमा ‘प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ शनिबार बर्दियामा विभिन्न सचेतना मूलक कार्यक्रम गरी दिवस मनाइएको हो।
गुलरिया नगरपालिकाको सुरजपुरमा घरदैलो, ब्यानर प्रदर्शनी कार्यक्रम गर्नुका साथै सीमा क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई मानव बेचबिखन तथा ओसारपसारको जोखिमबारे सचेत गराइएको हो।
बढैयाताल गाउँपालिकाको फुटाहा र मधुवन नगरपालिकाको शक्तिपुर नाकामा पनि सचेतनामूलक कार्यक्रम गरिएको माइती नेपालले जनाएको छ। भारततर्फ जाने महिला तथा बालबालिकासँग सोधपुछ गर्नुका साथै आवश्यक सूचना र परामर्श प्रदान गरिएको संस्थाले जनाएको छ।
माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा नेपाल–भारत सीमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका २ सय ९६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १८ वर्षमुनिका २ सय १७ बालिका र ५ बालक तथा १८ वर्षमाथिका ७४ महिला रहेका छन् ।