बाढी पूर्वानुमानमा आधारित पूर्वकार्यहरु कार्यक्रमको अभिमुखीकरण
नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुमानमा आधारित पूर्वकार्यहरु सम्बन्धी अभिमुखीकरण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा २०८३ सम्बन्धी प्रस्तुतीकरण गर्दै पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण मार्फत जीउधन र वातावरणको संरक्षण गर्न र आसन्न विपद्को स्थितिमा पूर्वसूचना प्रणालीलाई विद्यमान संघीय शासन संरचना अनुसार बहुतह, अन्तरनिकाय र विकास साझेदार समेतको सहकार्य र समन्वयका साथ पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि यो कार्यढाँचा तयार भएको कुरा उल्लेख गर्नुभयो ।
यस कार्यक्रम अन्तर्गत बाढी आउनु भन्दा आगाडि समुदायमा पूर्वसूचना वा पूर्वचेतावनीको सम्प्रेषण, सामुदायिक स्थानान्तरण र अस्थायी रुपमा आश्रय लिईरहेको ठाँउमा खानेपानी, सरसफाइ तथा स्वच्छता, नगद सहायता लगायतका कार्यहरु गर्ने योजना रहेको छ । कार्यक्रम बाँकेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा सन्चालन भइरहेको छ ।
अभिमुखीकरण कार्यक्रममा राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका जनप्रतिनिधि, विपद् फोकल पर्सन, नेरेसो पालिका शाखाका संयोजक, गैरसरकारी संघसंस्थाका प्रतिनिधि, नेरेसो बाँके जिल्ला कार्यसमिति र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नेरेसो विपद् तथा संकट व्यवस्थापन समितिका उपसंयोजक मीनबहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोबर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, डुडुवा गा.पा. वडा नं.१ वडा अध्यक्ष पटेश्वरी वर्मा, नरैनापुर गा.पा. ६ का वडा अध्यक्ष प्रेमचन्द्र मौर्य लगायतको उपस्थिति रहेको थियो । अभिमुखीकरणको सहजीकरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्मा र नेरेसो केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक प्रमोद अधिकारीले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन कार्यक्रम अधिकृत प्रल्हाद विश्वकर्माले गर्नु भएको थियो ।









