बाँके-बर्दियासहित २५ जिल्लामा सवारी आवागमनमा रोक
नेपालगन्ज : राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षापछि हुुने बाढी पहिरोबाट नागरिकलाई जोगाउन बाँके बर्दिया लगायत देशका २५ जिल्लामा सवारी आवागमनमा रोक लगाएको छ ।
तीन दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मनसुन प्रतिकार्य कमाण्ड पोष्टको शुक्रबार बसेको बैठकले धेरै वर्षा भएका तथा आगामी दिनमा पनि भारी वर्षा हुनसक्ने आकलन गरिएका २५ जिल्लालाई रेडअलर्टमा राख्दै शुक्रबार र शनिबार सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।
तराईका जिल्लामा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, रुपन्देही रकपिलवस्तु, त्यस्तै पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, प्युठान, दाङ र सुर्खेतलाई पनि रेडअलर्टमा राखिएको छ।
उच्च पहाडी तथा हिमाली जिल्लातर्फ गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा र दार्चुलामा पनि सवारी आवागमन बन्द गरिएको छ। मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा शनिबार र आइतबार पनि भारी वर्षाको सम्भावना रहेको छ।








