बडादसैँ आज महाअष्टमी : महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा हुँदै

नेपालगन्ज : हिन्दु धर्मावलम्बीहरुको ठूलो चाड बडादसैँअन्तर्गत आइतबार महाअष्टमी पर्व मनाइँदैछ । आश्विन शुक्ल अष्टमीका दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ, श्रीमद्वभागवत तथा देवी स्तोत्र पाठ गर्ने परम्परा पनि छ ।
नेपालगन्जको शक्तिपीठ बागेश्वरी लगायत देशभरका शक्तिपीठहरुमा शक्तिरूपा भगवतीको पूजाअर्चना गर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
दशैंघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ।
विशेषगरि आजका दिन पञ्चबलि दिने प्रचलन छ। पञ्च बलिमा बोका, रागाँ, परेवा, हाँस र भेंडा पर्दछन्। तिनीहरूमा हुने बिक्रित काम, अंहकार, मोह, मद र लोभ जस्ता गलत प्रवृतिको बलि दिनुपर्ने भाव ग्रन्थहरूमा उल्लेख छ। सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्।
आजको दिन कलपुर्जा, हातहतियार तथा यातायातका साधन सफा गरी देवी स्थापना गरिएको स्थानमा राखेर पूजा गर्ने परम्परा छ । यी साधनलाई देवीका शस्त्रास्त्रका रूपमा मानेर पूजा गरिन्छ । देवीका शस्त्रास्त्रसँगै चतुरङ्गिणी सेनाको आह्वान गरी पूजा गर्ने चलनसमेत छ ।