एनपीएल प्ले अफ : सुदूरपश्चिम प्रवेश, पोखरा, जनकपुर र कर्णाली बाहिरिए
नेपालगन्ज : तेस्रो संस्कणको नेपाल प्रिमियर लिग (एनपीएल)मा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स पनि प्लेअफमा पुगेको छ । यसअघि साबिक विजेता लुम्बिनी लायन्स बिहीबार एक खेल अगाडि नै प्लेअफ प्रवेश गरेको थियो ।
सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेल अर्थात तेस्रो संस्करणको २४औं खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै प्लेअफ स्थान सुरक्षित गरेको हो ।
त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ६ विकेट गुमाएर १२५ रन बनाएको थियो।
सुदूरपश्चिम रोयल्सले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन मात्रै जोड्न सक्यो। काठमाडु गोर्खाजले लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ । सुदूरपश्चिम सर्वाधिक १० अंकसहित शीर्ष स्थानमा पुगेको छ ।
शुक्रबार दोस्रो खेल अर्थात प्रतियोगिताको २५औं खेल चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ ।
जनकपुर बोल्ट्सले चितवन राइनोजलाई जितका लागि ८९ रनको सामान्य लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्रै बनाएको थियो । चितवनले १७.२ ओभरमा ६ विकेटको क्षतिमा ९२ रन बनाएर लक्ष्य पूरा गरेको हो । एक खेल खेल्न बाँकी छँदै चितवन ७ अंकसहित चौथो स्थानमा उक्लेको छ । पोखरा एभेन्जर्स, जनकपुर, कर्णाली याक्सको प्लेअफबाट बाहिरिएका छन् ।
यसअघि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन्।
अब बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज तथा विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। अन्तिम खेलअघि काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा छ। चितवन ७ अंकसहित चौथो र विराटनगर ६ अंकसहित पाँचौं स्थानमा छन्। काठमाडौंले अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ। काठमाडौं पराजित भए पनि उसको प्लेअफ सम्भावना कायम रहनेछ। तर चितवन र विराटनगरका लागि भने अन्तिम खेल जित्नैपर्ने दबाब छ।
अन्तिम खेलमा चितवनले कर्णाली याक्स तथा विराटनगरले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछन्। तीनै टोलीको अन्तिम नतिजापछि शीर्ष चारको समीकरण पूरा हुनेछ। आवश्यक अवस्थामा नेट रनरेटले पनि प्लेअफ पुग्ने टोलीको टुंगो लगाउनेछ।










