बाँकेमा ८९% क्रसर मापदण्ड विपरित
नेपालगन्ज : बाँकेमा ८९ प्रतिशत क्रसर उद्योग मापदण्ड विपरित सन्चालन भएका छन् ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवको संयोजकत्वमा रहेको जिल्ला अनुगमन तथा व्यवस्थापन समितिको आइतबार बसेको बैठकले बाँकेमा सन्चालनमा रहेका २७ मध्ये मापदण्ड विपरितका २४ वटा क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो । जसमा चार वटा त दर्ता बिनाकै छन् । तीन वटा मात्र मापदण्ड अनुसार सन्चालन भइरहेका छन् ।
समिति सदस्य बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार दर्ता नभएका र मापदण्ड अनुुसार नभएका सबै क्रसर उद्योग बन्द गर्ने निर्णय गरिएको छ । विगतमा दर्ता भएर सन्चालन गरिएका तर मापदण्ड नपुगेका क्रसरलाई सो स्थानबाट हटाउन लगाउने र नदीजन्य पदार्थको स्रोत खोजीनीति गरिने प्रजिअ कुरुम्वाङ बताउँछन् । ‘नदीमा ठेक्का नै नलागेको बेलामा कसरी सामग्री संकलन भयो । यसको लगत पनि संकलन हुन्छ । स्रोत बिना नै कति उत्खनन् गरे र कति बिक्री गरे भन्ने कुरा खोजी हुनेछ’, उनले प्रष्ट पारे, ‘यस्तो कामका लागि हामीले अख्तियारसँग पनि सहयोग मागेका छौं ।’ दर्ता बिना सन्चालनमा रहेका क्रसर उद्योगको नदीजन्य पदार्थ राष्ट्रिय गौरवका आयोजनालाई लिलामी हुनेछ ।
अनुगमन समितिले नेपाल विद्युत प्राधिकरणलाई विद्युत लाइन काट्न अनुरोध गर्ने निर्णय पनि गरेको थियो । बैठक लगत्तै विद्युत प्राधिकरण, प्रहरी, प्रशासनसहितको दुई वटा टोली ती क्रसर उद्योगको विद्युत लाइन काट्न फिल्डमा खटाइएको थियो । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी हुकुमबहादुर वलीका आइतबार १० वटाको विद्युत लाइन र तीन वटा जेनेरेटरबाट सन्चालन हुनेको पनि लाइन काटिएको छ । १० वटा भने सन्चालनमा नरहेको उनले बताए । एक वटाले मझौला उद्योगको रुपमा आफ्नो दर्ता भएको बताएकाले एकदिनभित्र कागजात ल्याउने सर्तमा विद्युत नकाटिएको वलीले प्रष्ट पारे ।