सलह भगाउन मादल र थाल ठटाइयो

बर्दियाको गेरुवा-१ मा सलह धपाउँदै स्थानीय । फोटो सौजन्य : पदमराज पाण्डे

राजापुर : बर्दियाको गेरुवा गाउँपालिका–१ को बगहीपुर र जनकनगरका स्थानीयले मादल र थाल ठटाएर सलह भगाएका छन् ।
दिउँसो धान खेतमा सलहको बथान आएको थाहा पाएपछि गाउँलेहरु मादल र थाल ठटाउँदै खेतमा पुगेको वडा अध्यक्ष दयाराम वैद्य थारुले बताए । ‘धान सुपरजोमा कार्यरत कृषि प्राविधिकले धान खेतमा सलह आएको भनेपछि मादल बजाउँदै, थाल ठटाउँदै, घण्ट बजाउँदै स्थानीयले सलह भगाए । एक सय जति सलह त उनीहरुले मारेका थिए’, वडाध्यक्ष थारुले भने, ‘धान बालीमा भने कुनै क्षति पुगेको छैन ।’
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले पनि बर्दियामा देखिएको सलह नै भएको पुष्टि गरे । उनले प्रष्ट पारे, ‘सलहको झुन्ड ठूलो संख्यामा थिएन । धानको बोटमा बसेको सलह स्थानीयले समातेका थिए भने विषादी पनि छर्किएको थियो ।’ उनले भारततिरबाट सलह आएको आशंका गरे ।