आइतवार, मंसिर १४, २०७७ / Sunday 29th November 2020

शिक्षित ‘गोठालोे’

समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण विष्णु पोखरेल प्रिन्सिपल र शारदा पोखरेल वित्तीय संस्थाकी सिइयो हुन् । योभन्दा ठूलो परिचय सफल गाईपालक किसान बनेको छ ।

कोहलपुर नगरपालिकाको मदन चोकमा संकल्प शिक्षालय छ । विष्णु पोखरेल सञ्चालक र प्रिन्सिपल हुन् । कोहलपुरमै रहेको उपकार लघु वित्त वित्तिय संस्थाकी सिइयो हुन्, शारदा पोखरेल । विष्णु र शारदाको यो भन्दा ठूलोे परिचय छ, सफल गाईपालक किसानको । कोहलपुर ८ पिपिरीको प्रकृति गाईपालन फर्म छ । पढे लेखेका मान्छेले गोठको काम गर्दैनन् भन्ने समाजलाई उनको परिवारले चुनौती दिएको छ । यो दम्पत्तिमा केही वर्ष अघि पशुपालनबाट राष्ट्रपति पुरस्कार पनि पाएको छ ।
पाल्पाको रैनादेवीमा ६ असारमा २०२७ सालमा जन्मिएका विष्णुको परिवार २०४० सालमा नवलपरासीको बर्दघाटमा बसाइ स¥यो । त्यसको एक वर्षपछि बाँकेमा आयो । १३ वर्ष उनी शिक्षण पेशामा लागे । ०७३ सालमा त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । ८ वर्ष भूमि अधिकारमा जुटे । ०६६ सालमा खजुराबाट २२ हजार रुपैयाँमा किनेर ल्याएको एउटा गाईबाट व्यवसाय सुरु गरे । १० धुर जग्गामा २८ वटासम्म गाईसम्म पाले । अहिले उनको गोठमा ३० वटा गाई छन् । तीमध्ये १२ वटा त दूध दिने नै छन् । औसत १० लिटर दूध दिने गाई छन् । एउटै गाईले २० लिटरसम्म दूध दिन्छ । उनले दैनिक एक सय लिटर दूध बेच्छन् । दूध मात्र बेचेर मासिक रुपमा कम्तीमा पनि डेढ लाख रुपैयाँ बचत गर्छन् । वर्षमा १८ लाख रुपैयाँ बचत हुन्छ । मल मात्र दुई लाख बढीको बेच्छन् ।
‘कुनै पनि काम ठूलो सानो हुँदैन । सबै कामका आफ्नै महत्व हुन्छन्’, विष्णु भन्छन्, ‘गोठमा काम गर्दा गोबर फाल्नुपर्छ । पिसाब सोहर्नु पर्छ । गोठको काम सकेर मात्र घर परिवारलाई समय दिन्छौं । हाम्रा लागि सन्तानभन्दा पनि प्यारा यही गाईहरु हुन् ।’ यो दम्पत्ति चालिस चालिस लिटरका दुई क्यानमा ८० लिटर दूध बोकेर दूध बेच्न जान्छन् । गोठमा एक जना मात्र कामदार छ । गाई दुहुने, सरसफाइ गर्ने र घाँस दाना दिने सबै काममा दम्पत्ति मिलेर होमिन्छन् । ‘बिहानको रुटिन ३ बजेबाट सुरु हुन्छ । काम सकेर ७ बजे अफिस जान्छु’, शारदाले कामबारे भन्दै गइन्, ‘गोठमा दुहुने काम दिउँसो तीन बजेदेखि दूध दुहुन सुरु हुन्छ । अफिसबाट ५ बजे आएर रातिको साढे नौ बजेसम्म फर्ममा काम गर्छु ।’ उनीहरु अफिस र गोठमा बाधा नपुग्ने गरी समय व्यवस्थापन गर्छन् । एसएलसी दिने बेलासम्म उनका दुई वटा छोरी घाँस काट्ने, गोबर फाल्ने र दूध बेच्ने काम गर्थे । ‘सन्तानलाई काम दिँदा जिम्मेवार हुने रहेछन् । पढ्, पढ् भनेर मात्र पढ्ने रहेनछन् । सँगसँगै जिम्मेवारी पनि दिँदा पढाइमा पनि ध्यान जाँदो रहेछ’, उनीहरुले यही बुझे र गर्न लगाए । विष्णु भन्छन्, ‘गाडी घोडा किनौंला भन्ने ठूलो सपना पनि छैन । ग्राहकलाई शुद्ध दूध खुवाउन पाउँदा खुसी छु ।’
‘पैसा मात्र आम्दानी होइन । परिवारसँग मिलेर बस्दा जिन्दगी जिउन पाउनु पनि ठूलो आम्दानी हो । यसको कुनै मोल नै हुँदैन ।’ स्वदेशमा स्वरोजगार हुँदा उनको परिवार खुसी छ । ‘रक्सी बेचेको भए म रातारात धनी हुन्थे होला । घर परिवारमै बसेर समाजलाई दूध खुवाएर स्वास्थ्यका लागि फाइदा हुने काम गरेको छु’, उनले सन्तुष्टिको सास फेरे, ‘६ महिनाको बच्चादेखि १०३ वर्षको हजुरआमालाई दूध खुवाउन पाएकोमा खुसी छु । उहाँहरु मेरो उर्जा र प्रेरणाको स्रोत हो ।’
कोहलपुर ११ सितलनगरकोघरमा दूध किन्न आउने उपभोक्ताले आफै दूध नापेर लैजान्छन् । ‘सुरु सुरुमा गाई दुहुदै गर्दा दूध माग्न आउँथे । हामी व्यस्त हुन्थ्यौं । आफैैं नापेर लैजान भन्यौं’, उनले सुरुवाती दिनबारे भने, ‘आफै नापेर लैजान पाउँदा उहाँहरु दङ्ग, हामीलाई पनि काममा सहयोग भयो । विश्वासमा यसरी नै चल्दै आएको छ ।’ ग्राहकले दुहुदै गरेको दूध ७० लिटरमा किन्छन् । त्यही दूध डीडीसीलाई बेच्दा ४० रुपैयाँ प्रति लिटर आउँछ ।
दूधबाट मात्र होइन, मल मुत्रबाट पनि फाइदा लिएका छन् । बारीमा रसायनिक मल र विषादी नहालेको तरकारी फलाउँछु, खान्छु । गाई गोठको वरिपरीको वातावरण पनि पवित्र हुने र खराब जिवाणु नआउने दाबी गर्छन् । ‘गाईको मुत्र विषादी बन्दो रहेछ । त्यही मुत्र पवित्र कुरा पनि । भिटामिनहरु पनि पाइने रहेछ’, उनले गाईको मल मुत्रलाई सदुुपयोगबारे भने, ‘२२ दिनसम्म गाईको मुत्र एउटा ड्रममा बन्द गरेर राख्छौं । त्यसमा खुर्सानीको धुलो, असुरो, निम, बकैना घोलेर १ लिटर पिसाबमा ४ लिटर पानीमा राखेर तरकारीमा छर्कँदा विषादी र भिटामिन दुबैको काम गर्छ ।
पारिवारिक पृष्ठभूमि विपन्नताबाट गुज्रेको बताउने उनले गाई पालेर कोहलपुरमा दुई तले १० कोठे घर बनाएका । गोठ बनाउन १० कठ्ठा जग्गा किनें । छोरीहरुलाई उनीहरुको रुची अनुसार पढाउन सकेको छु । उनका दुई छोरी छन् । जेठी प्रज्ञा दिल्लीमा चाटर्ड एकाउण्टेन्ट र कान्छी प्रकृति काठमाडौंमा बीबीए पढ्दैछिन् ।
उनले राज्यबाट अहिलेसम्म ५ लाख रुपैयाँ अनुदान पाएका छन् । प्रदेश सरकारबाट यस पटक ४ लाख र कोहलपुर नगरपालिकाबाट एक लाख पाएका छन् । अनुदान वितरणको मापदण्ड नै उनलाई चित्त बुझेको छैन, ‘३५ वटा गाई हुने मैले पनि चार लाख पाएँ । चार पाँच वटा गाई हुनेले पनि त्यत्ति नै रकम पाएका छन् । पाल्दै नपाल्ने पनि अनुदान पाएका छन् । यो निकै अन्यायपूर्ण छ ।’
उनी ‘टाइलेस गाई’ पाल्ने योजनामा छन् । बाँकेमा मात्र होइन, नेपालमै नौलो हुनेछ । ३० वटा गाई पाल्न त कम्तीमा १० विगाह जग्गा नै चाहिन्छ । सानो क्षेत्रफलमा भए पनि सुरु गर्ने मन छ । ‘यस्तो फार्ममा गाईलाई दाम्लोले बाँधिदैन । एउटा ठूलो क्षेत्रफलमा खुला छोडिन्छ । गोबर मुत्र सोहर्न पर्दैन । आफै म्यानेज हुन्छ’, पोखरेलले योजना सुनाए, ‘१० कठ्ठा जग्गामा भए पनि काम सुरु गर्छु ।’
‘देश समृद्ध बनाउने कृषिबाटै हो । कृषि आर्थिक क्षेत्रको मेरुदण्ड नै हो । घर अगाडिको जग्गा बाँझो राखेर बेरोजगार छु भन्ने प्रवृत्ति छ । कृषिको विकास बिना त कसैको पनि कल्याणै हुँदैन उनको भनाइ छ । उनको फर्ममा २ करोड रुपैया लगानी भइसकेको छ । ५ सय रुपैयाँको लगानीमा पान बेच्नेलाई साहुजी भनिन्छ । गाईभैैंसी पाल्नेलाई गोठालो भनेर समाजले हेयको दृष्टिले हेर्छ । तर पोखरेल कार्यक्रममा जाँदा उनी आपूmलाई गोठालो भनेर गर्वले परिचय दिन्छन् । ‘कतिले बडो घमण्डी रहेछ भन्छन्’, उनले अनुभव सुनाए, ‘आफ्नो पेशाप्रति गर्व गर्नुपर्छ । गरेर खानेहरु सानो र अपमानित छन् । ठगेर खानेहरु ठूलाठालु मान्ने समाजको गलत मान्यता छ । गोठालोलाई पनि सम्मानित रुपमा हेर्नुपर्छ । भगवान श्रीकृष्णले आपूmलाई गोठालो भन्नुहुन्थ्यो । मेरो कामै गाई पाल्ने छ किन गोठालो नभन्ने ?’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *