खजुरामा पहिलो पटक धानको हाइब्रिड बीउ उत्पादन शुरु

नेपालगन्जः बाँकेको खजुरामा पहिलो पटक हाईब्रिड धानको बीउ उत्पादन शुरु भएको छ । कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्वर ५ खजुराका अनुसार हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामको हाईब्रिड धानको बीउको उत्पादन शुरु भएको हो । यो परिक्षण उत्पादन सफल भए यसअघि भारत लगायत विभिन्न मुलुकवाट आयात हुँदै आएको हाईब्रिड धानको बीउको परिपुर्ति सहज रुपमा हुनेछ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले केही समय अगाडी पहिलो पटक नेपालमै धानको हाइब्रिड जात विकास गरेको थियो । हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामाकरण गरिएको उक्त जात राष्ट्रिय बीउबिजन समितिबाट स्वीकृत भएर २०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भइ कार्यान्वयनमा आएको छ । लामो समयको परीक्षणपछि हाइब्रिड धानमा पाएको सफलतासंगै देशका विभिन्न स्थानमा कृषि अनुसन्धान निर्देशनालयले बीउ उत्पादन शुरु गरेका छन । कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्वर ५ खजुराका अनुसार खजुरामा यी दुबै हाईब्रिड धानको २ हेक्टर जमिनमा २ टन उत्पादन गर्ने लक्ष्य सहित उत्पादन शुरु गरीएको छ । पछिल्लो समय भारतीय हाईब्रिड धानको बीउ प्रति कृषकहरु आकर्षक भईरहँदा नक्कली बीउमा ठगीने गरेको पाईएकोले नेपालमै हाईब्रिड धानको विकास गरी उत्पादन शुरु गरेको कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्वर ५ खजुराका निर्देशक जनमेजय त्रिपाठीले बताए । ‘उत्पादन सफल भए अव हाईब्रिड धान नेपालमै पाईनेछ’ उनले भने ‘बीउ नपाएर विभिन्न देशबाट आउने गुणस्तरहिन बीउवाट ठगीनुपर्ने छैन ।’
कृषि अनुसन्धान निर्देशनालयका प्राविधिक अधिकृत सुमन बोहोराका अनुसार बीउ उत्पादन गर्दा आठवटा लाईन पोथी र बिच बिचमा दुईवटा लाइन भालेलाई राखेर क्रस गरी निस्केको बच्चा बिरुवाको रुपमा हर्दिनाथ हाईब्रिडको नयाँ बीउँ उत्पादन गर्ने गरिन्छ । कम समयमा उत्पादकत्व क्षमता बढी भएका यी बीउ यसअघिको हर्दिनाथ भन्दा फरक भएको उनको भनाई छ ।
नेपालमै पहिलो पटक धानको हाइब्रिड जात बनाउन सफल भएका कारण निर्देशनालयले कृषकमा जाने बीउका साथै किसानले बीउ रोपी सकेपछि त्यसको उत्पादन कस्तो हुन्छ भनेर बीउको जातीय प्रर्दशनीका लागि समेत अवलोकन गर्न सकिने व्यवस्था गरेको छ । निर्देशनालयका बाली बैज्ञानिक रामदास चौधरी जातीय प्रदर्शनीवाट कृषकले लगाएको बीउको उत्पादनका बारेमा अनुमान गर्न सकिने बताउँछन ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेका यी दुबै धान तराई, मधेसका साथै समुद्र सतहदेखि सात सय देखि नौ सय मिटर उचाइसम्मका लागि सिफारिस गरिएको छ । १ सय २२ दिनमा पाक्ने हर्दिनाथ हाईब्रिड १ धान प्रति हेक्टर ७.५ टन उत्पादन क्षमता रहेको छ भने १ सय १५ दिनमा पाक्ने हर्दिनाथ हाईब्रिड ३ धानको उत्पादन क्षमता प्रति हेक्टर ८ टन रहेको निर्देशनालयले जनाएको छ ।
स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण किसानहरु भारतीय बीउप्रति निर्भर हुनुपरेको छ । गुणस्तर परिक्षण बिना भारतबाट जथाभावी ल्याईने बीउले बेला बेलामा कृषकहरु ठगिने गरेका छन । पछिल्लो समय हाईब्रिड बीउप्रति कृषकको माग बढ्दै गएका बेला सरकारले सहज रुपमा यो बीउ पाउन सक्ने व्यवस्था गरिदिए बर्षौदेखिको कृषकको परनिर्भरता अन्त्य हुने देखिन्छ ।