छाउगोठ भत्किए, छाउपडी प्रथा अझै कायमै
मानबहादुर ठकुल्ला । टीकापुर
टीकापुर नगरपालिका–८ मा टिनले छाएको एउटा पक्की घर छ । घरको आँगनमै बाहिरतिर निकै व्यवस्थित रुपमा टायलले छाएको सानो झुपडी छ । झट्ट हेर्दा सानो घर बाख्राको खोर जस्तो लाग्छ तर, यो छाउ गोठ हो । गत चैत्र महिनामा छाउपडिविरुद्धको अभियानका क्रममा यो झुपडी भत्काइएको थियो ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी दुर्गम जिल्लाका गाउँमा छाउगोठ भत्काउने अभियान चलिरहँदा कैलालीमैै छाउपडी प्रथा प्रचलनमा रहेको कुरा टीकापुरका एउटै वडा ८ नम्बरमा गत वर्ष ३८ वटा छाउगोेठ भत्काएबाट पुष्टि हुन्छ ।
टीकापुर–७ बैदी की १७ वर्षकी रेनुका साउँद टोलमा अझै पनि छाउपडी प्रथा कायमै रहेको अनुभव सुनाउँछिन् । ‘भत्काए पनि अझै केही घरमा त छाउगोठ रहेको उनले बताइन् । ‘छाउगोठमा बस्दा सर्प र किरा ,फट्याङ्ग्राको डरैडरले सुत्नु पर्छ । रातभरि निन्द्रा लाग्दैन’, उनले भनिन् ।
सोही वडाकी जानु जैसीको भनाइबाट छाउगोठ भत्किए पनि छाउप्रथा कायमै रहेको बुझिन्छ । ‘केही वर्ष पहिले घरभन्दा टाढा बनाइएको छाउगोठमा बस्थ्यौं । अहिले घरको एक कुना अर्थात बरन्डा र घरको पालीमा सुत्नुपर्छ । पहिलाभन्दा अलि सुरक्षित भएको महसुस हुन्छ’, उनले भनिन् । सोही वडाको रामजानकी टोलकी संजिता ढुङ्गानाको भनाइबाट पनि टोल समाजमा अझै छाउपडी प्रथा कायमै रहेको प्रष्ट हुन्छ । उनले समाजको यर्थाथता दर्शाइन्, ‘जतिबेला पोषिलो खानाको आवश्यकता हुन्छ । त्यतिबेला दूध, दहि ,घ्यू खान पाइँदैन । महिनावारीमा खाँदा देवीदेउता रिसाउँछन । घरमा अनिष्ट हुन्छ भन्दै खान र छुन दिँदैन ।’
‘किशोरीहरु छाउपडी प्रथा बारे सचेत भए पनि स्थानीय बुढापाखाको चेतनामा परिवर्तन ल्याउनु पर्ने अनि मात्रै छाउपडी प्रथा हटाउन सकिन्छ;, टीकापुर–७ कि अस्मिता धामीको सुझाव छ । रजश्वला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने भन्दै बुढापाखाले दूध ,दहि, घ्यु खान नदिने गरेको टीकापुरका अधिकांश ग्रामीण बस्तीमा धार्मिक अन्धविश्वास रहदै आएको छ । छाउगोठ नभए पनि छुट्टै सुत्ने व्यवस्था हुने भएकाले किशोरीहरु बलात्कृत हुने डरत्रासमा बाँच्नु परेको बताउँछन् ।
टीकापुर नगरपालिकाका सूर्यपुर, बटनपुर कर्मिडाँडा, अर्नुवाफाँटा, कमलगाँउ, कालिमाटी पायलगाँउ, रोइनीबोझी, बैदीलगायत गाउँका महिलाहरूमा रजस्वला भएका बेला घरका कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास अझै छ । त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी महिलालाई घरभन्दा टाढा बनाइएको झुपडीमा बस्न लगाइन्छ । पर्याप्त लता कपडा र ओछ्याउने सरसामानसमेत दिइँदैन । पाँचदेखि सात दिनसम्म खानेपानीका धारा छुन नदिने गरेको अनिता धामी बताउँछिन् ।
टीकापुर–७ कि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमि शान्ति नेपाली रजश्वला भएकी महिलालाई झन सफा राख्नुपर्ने तथा प्रशस्त पोषिलो आहार खुवाएर आराम गराउनु पर्ने सुझाव दिन्छिन् ।
‘घरमा पालेको गाईभैँसीको दूध खाए तिनले दूध दिन छोड्छन् भन्ने अन्धविश्वास रहेको टीकापुर–८ कि मनसरा साउँदले बताइन् । उनका अनुसार परम्परागत अन्धविश्वासका कारण यस्ता महिलालाई छोएको खण्डमा अशुद्ध हुने भएकाले छोए पनि सुनपानीको छिटो हाल्ने, गहुँत खुवाउने, घरका कुलदेवता चोख्याउने जस्ता प्रचलन छ ।
टीकापुर–९ का वडा सचिव लोकबहादुर बुढा छाउपडी बसेका बेला बलात्कार हुने, सर्पले टोकेर मर्नेलगायतका घटनाहरू हुने गरेको बताउँछन् । उनले अनुभव सुनाए, ‘कतिपय महिला छाउपडीमा बसेका बेला चिसोले कठ्यारिएर र कतिपय बढी रक्तस्राव भएर पनि मर्ने गरेका छन् । गर्मीमा लामखुट्टे, सर्प, बिच्छी जस्ता विषालु किराहरुको डर हुन्छ भने जाडो याममा न्यानो लुगाको अभावमा विभिन्न स्वास्थ्य समस्या आउँछन् ।’
कर्णाली मावि सत्तीकी शिक्षिका सरस्वती साउँद विगतका दिनमा स्कूल पढदै गरेका साना नानीहरुमा रजश्वला हुँदा गरिने भेदभावपूर्ण व्यवहारले विद्यालय नै नआउने गरेको बताउँछिन् । ‘आजभोलि त्यो समस्या अन्त्य भएको छ । नियमित विद्यालय आउने गरेका छन् । उनीहरुका लागि स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको हुन्छ।’
रजश्वला हुँदा सरसफाईमा ध्यान दिनुका साथै पोषिलो खानेकुरा खान स्वास्थ्यकर्मी गोविन्द कठायतको सुझाव छ ।
टीकापुर नगरपालिकाले छाउपडी प्रथा जस्ता कुरीतिका विरुद्घ जनचेतना फैलाउने र छाउपडी गोठ भत्काउने अभियानसमेत थालिएको जस अन्तरगत ६० जति छाउगोठ भत्काइएको टीकापुर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख संगीता शाहले जानकारी दिइन्। विगतका दिनमा छाउपडी प्रथा तथा छाउगोठ मुक्त गर्नका लागि नगरपालिका विभिन्न खाले सचेतनामुलक कार्यक्रम सन्चालन गरिएको आगामी वर्ष पनि निरन्तरता दिनका लागि एक लाख रकम विनियोजन गरिएको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले प्रष्ट पारे । छाउगोठ बनाएको र महिलालाई कसैले वडा कार्यालयमा उजुरी गरेमा वडा कार्यालयबाट दिइने सेवा सुविधा रोकिने टीकापुर– ७ का वडाअध्यक्ष रामलाल डगौरा थारु बताउँछन् ।
छाउपडी प्रथाका कारण महिलाहरूमाथि ठूलो अमानवीय तथा भेदभावयुक्त व्यवहार गरेर मानव अधिकारको हनन भएको बताउँछन्, भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र अध्यक्ष देवेन्द्र जैसी । उनी भन्छन्, ‘सचेतनामूलक कार्यक्रम सन्चालन गर्दै यस्ता प्रथा र कुरितिहरूलाई विस्तारै कम गर्न सकिन्छ ।