इलाका प्रशासन कार्यालय राजापुरको जीर्ण भवन भत्किने खतरा

शक्ति परियार । राजापुर
बर्दियाको राजापुरमा रहेको इलाका प्रशासन कार्यालयको २ तले भवन जीर्ण भएको छ । भवनको सिलिङ्गबाट धुलो झर्ने तथा भित्ताहरु चर्केका छन् ।
कार्यालय प्रमुख सुनिल दत्त ५ दशकभन्दा पुरानो भवनका सिलिङ्ग भत्किने खतरा रहेको भन्दै कर्मचारीहरु भित्र बसेर काम डराउने गरेको बताउँछन् । कोठाहरु साँघुरा भएका कारणले फाइलिङ्ग,स्टोर तथा प्रत्यक्ष सेवाग्राहीलाई सेवा दिन समेत गाह्रो भएको छ । भवनको तल्लो तलामा २ वटा कोठा र १ हल र माथिल्लो तलामा २ वटा कोठा छन् । प्रशासनको नयाँ भवन निर्माण गर्नु पर्नेछ तर कहिलेसम्म बन्ने हो त्यसको कुनै टुंगो नरहेको प्रमुख दत्तले बताए । उनले भने, ‘हललाई २ भागमा विभाजन कोठा बनाउँदा अलिकति सहज भएको छ तर लामो समयसम्म भने काम गर्न सम्भव छैन ।’ इलाका प्रशासन कार्यालय राजापुरले बर्दियाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका (साबिक ११ गाविस) का जनतालाई सेवा गरेको छ ।