मङ्लबार, बैशाख २८, २०७८ / Tuesday 11th May 2021

मनमोहक टाकुरामा बर्फानी बाबा

बर्फानी बाबा आश्रम क्षेत्रलाई तपोभूमि र तीर्थस्थल मान्छन्, ‘यो तपस्थली हो। यो ऋषिमुनि र साधुसन्तकै भूमि हो। यहाँ आउनेको  मनोकामना पूर्ण हुन्छ’

शंकरप्रसाद खनाल
नरैनापुरको फाँटबाट हेर्दा देखिन्छ अग्लो टाकुरो। ससाना दुईवटा पहाडभन्दा अलि परको टाकुरोमा उभिएर टाउको एक फन्को घुमाउँदा चारैतिर सर्प आकारको चोटी भएका हरिया पहाड। फेदीमा घना जंगल। हिमालजस्तै लाग्ने टाकुरोको चोटीको सानो क्षेत्रफलमा महादेवको मूर्ति अनि शिवलिंगसहितको खुला आकाशमा शिव मन्दिर। त्यसको मुन्तिर टिनले छाएको सानो कुटी। आगोको धुनीनजिकै कपाल सेतै फुलेका र शरीरमा भष्म लेपन गरेको अवस्थामा भेटिन्छन्, बर्फानी बाबा।

बाँकेको नरैनापुर गाउँपालिका–३ को बर्फानी बाबाको आश्रममा गत सोमबार पुग्दा देखिएको दृश्य हो यो। काभ्रेको पाँचखालबाट बालखैमा घर छाडेर ब्रह्मचारी भएका झन्डै ७० वर्ष जतिको उमेर भए पनि तपका कारण धपक्कै बलेजस्तै हँसिलो मुहार भएका श्रीश्रीश्री १००८ केशव गिरीजी महाराज ९बर्फानी बाबा० २५ वर्षदेखि बस्छन्। बहराइच, श्रावस्ती, गोन्डालगायतका भारतको उत्तर प्रदेशका हिन्दू धर्मावलम्बी कोही आश्रमबाट फर्कंदै थिए त कोही जाँदै भेटिएको देख्दा यो क्षेत्रको महत्त्व र महिमा नेपालीभन्दा बढी भारतीय दर्शनार्थीले बुझेको आभास हुन्थ्यो। नरैनापुर गाउँपालिका–३ का वडाध्यक्ष राजकुमार मौर्य पनि आश्रममा नेपालीभन्दा पनि भारतीय पर्यटकको घुइँचो लाग्ने गरेको बताउँछन्। मौर्यले भने, ‘हरेक दिन कम्तीमा पनि ४० देखि ५० जना मानिस बाबाको दर्शन गर्न आउँछन्।’

बर्फानी बाबाआश्रम क्षेत्रलाई तपोभूमि र तीर्थस्थल मान्छन्। ‘यो तपस्थली हो। यो ऋषिमुनि र साधुसन्तकै भूमि हो। पहिले थुप्रै राजामहाराजा यस क्षेत्रमा आउँथे। आजदेखि होइन, धेरै पहिलेदेखि नै। यहाँ आउने धेरैले मनोकामना पूर्ण हुन्छ भन्छन्’, बाबाले भने, ‘यहाँ ठाउँ–ठाउँमा सिद्धभूमि छ। दरबाजा भन्ने पुरातात्त्विक ठाउँ पनि छ। जहाँ हामीले नबुझ्ने भाषामा लेखिएको शिलालेख पनि छ। अर्को गरुडवीर भन्ने ठाउँ छ। त्यहाँ गरुडले तपस्या गरेको ठाउँ हो भन्छन्। ब्रह्मकुण्ड र गोपी झरना पनि छ। यो क्षेत्रमा जलाहारी र पवनाहारी सन्तहरू झुलुक्क देखिन्छन्। गुप्त हुन्छन्।’ त्यसैले त बाबा यहीँ ठाउँमा वेद विद्यालय स्थापना गर्न सके हिन्दू धर्मको रक्षा र मानव कल्याणको काम हुने बताउँछन्।

बाँके जिल्ला सदरमुकाम नेपालगन्जबाट पूर्वमा झन्डै ४० किलोमिटर दूरीमा रहेको नरैनापुर गाउँपालिका–३ गोग्लीदेखि उत्तरमा झन्डै १०र१२ किलोेमिटरको दूरीमा राष्ट्रिय जंगलको बीचमा आश्रम छ। त्यहाँ पुग्न कहीँ अग्लो र कही भिरालो कच्ची बाटो छ। त्यो पनि खाल्डैखाल्डा भएको। गोग्ली सोता ९नाला०, झमलाहा नाला र रतैहा नाला तर्नुपर्छ। अहिले पानी सुकेको भए पनि खोला वर्षायाममा भरिन्छ। खोलाको तिरैतिरको साँघुरो बाटो छ त कतै खोलापारि पुगेर बाटो छ। ट्र्याक्टर, मोटरसाइकल र साइकलबाट यात्रा गर्न सकिन्छ। आश्रम पुग्नुभन्दा ३ सय ५० मिटर वर नै गाडी राखेर ठाडो उकालो चढ्नुपर्छ। त्यसैले पनि पैदल यात्रा सबैभन्दा रोमाञ्चक हुन्छ, यो आश्रम। अझ हाइकिङका लागि यो क्षेत्र निकै उपयुक्त छ।

लुम्बिनी प्रदेश सरकारले आश्रम क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न खोेजेको छ। प्रदेश सरकारको प्राविधिक टोली सम्भाव्यता अध्ययन भइरहेको छ। सम्भाव्यता अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माणका लागि अवलोकन गर्न प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’को नेतृत्वमा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीसहितको प्राविधिक टोलीले बाबा बर्फानी आश्रम क्षेत्रमा पुगेको थियो। काठमाडौंको एमके कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन प्रालिले ड्रोनबाट एरियल सर्भे गरिसकेको छ। कम्पनीका अध्यक्ष किरण परियारले आगामी २ महिनाभित्र डीपीआर बनिसक्ने बताउँछन्।

बर्फानी बाबा आश्रम क्षेत्रलाई तपोभूमि र तीर्थस्थल मान्छन्। यो तपस्थली हो। यो ऋषिमुनि र साधुसन्तकै भूमि हो। पहिले थुप्रै राजामहाराजा यस क्षेत्रमा आउँथे। यहाँ आउने धेरैले मनोकामना पूर्ण हुन्छ किनकि यहाँ ठाउँ–ठाउँमा सिद्धभूमि रहेको उनको भनाइ छ।
बाँके समुद्री सतहदेखि कम्तीमा १ सय २७ देखि बढीमा ६ सय १० मिटर उचाइमा छ। यद्यपि चुरे क्षेत्र भने ६ सय १० मिटरदेखि १ हजार २ सय ३६ मिटर उचाइमा पनि छ। बाबाको आश्रम समुद्र सतहदेखि ४ सय १० मिटर उचाइमा रहेका ड्रोनबाट एरियल सर्भे गरेका एमके कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन प्रालिका कम्पनीका प्रबन्ध निर्देशक इन्जिनियर मदनकुमार ओलीले जानकारी दिए। यो क्षेत्र नरैनापुर गाउँपालिकाकोे भने सबैभन्दा अग्लो ठाउँ हो।

आश्रमको स्थलगत अवलोकन गरेर फर्केकी सांसद नमुनाले राप्ती सोनारी र नरैनापुरको लेक ९अग्लो डाँडो०लाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तत्कालीन र दीर्घकालीन योजनाको खाँचो रहेको बताइन्। बाबा बर्फानी आश्रमको उनले चर्चा गरिन्, ‘अग्लो डाँडो छ। चारैतिर हेर्दा असाध्यै रमणीय ठाउँ छ। मनै प्रफुल्ल बनाउने वातावरण छ। हामी यसलाई पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउँछौं।’ नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत शाही पनि आन्तरिक र बाह्य धार्मिक पर्यटकका लागि आश्रम क्षेत्र निकै महत्त्वको पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने बताउँछन्। उनी भन्छन्, ‘असाध्यै गर्मीले पोलिरहेको बेला शीतलता पाउन र मनोभाव शान्त पार्न बर्फानी बाबाको आश्रम महत्त्वपूर्ण धार्मिक स्थल हुनेछ।’

पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न शिवजीको मन्दिर निर्माण गर्ने, बाबाजीका लागि केन्द्र बनाउने, सन्त निवास, धर्मशाला र भण्डाराका लागि सामुदायिक भवन बनाइनेछ। बिजुली, खानेपानी र शौचालयको व्यवस्था गर्नुपर्नेछ। आश्रमसम्म पुग्ने पदमार्ग निर्माण गर्ने, दुवैतिर रेलिङ हालेर स्टेप सिँढी बनाउने, बाटोमा ठाउँठाउँमा प्रतीक्षालय, बोटानिकल गार्डेन र अग्लो डाँडामा भ्यु टावर बनाउने योजना छ। अग्लो डाँडामा गाडी जान नसक्ने भएकाले आश्रमभन्दा झन्डै एक किलोमिटरको दूरीमा पार्किङ स्थल बनाइनेछ।

छोटो दूरीको केबलकार र डाँडामा हेलिप्याड दीर्घकालीन योजना हुनसक्छ। आश्रम क्षेत्रलाई धार्मिक वनका रूपमा विकास गर्दा आश्रम र गौशालाका लागि आम्दानीको स्रोत बनाउन सक्ने सम्भावना पनि देखिन्छ। बाबाले आश्रममा गाई पालेका छन्। ‘चार पाँच वर्ष अघिसम्म झन्डै १२ सय गाई थिए। दुई वर्षयता घट्दै गएका छन्। अहिले त दुई सय जति मात्र होलान्’, बाबाले गौशालाबारे जानकारी दिए। गौशाला पनि व्यवस्थित गर्नुपर्छ। बर्फानी बाबाको अर्को आश्रम नरैनापुर–३ गोग्लीको सबनम हरियाली सामुदायिक वन क्षेत्रमा छ। उत्तर प्रदेश भारतको सीमावर्ती जिल्ला श्रावस्तीसँगै जोडिएको बर्फानी बाबाको आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई आकर्षित गरेर आम्दानीको स्रोत पनि बढाउन सकिन्छ। स्रोत : अन्नपूर्ण पोस्ट् दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *