१० वर्षपछिको नेपालगन्ज

तराईको सबैभन्दा पूरानो सहर नेपालगन्ज आगामी एक दशकपछि पूर्वाधार विकासमा फड्को मार्दै महानगरपालिका बन्दैछ
नेपालगन्जको सुर्खेत रोड । फोटो : मेरो खुसी

नेपालगन्ज : डेढ सय वर्षभन्दा अघि नै नेपालगन्जलाई व्यवस्थित सहरको रुपमा परिकल्पना गरिएको थियो । राणा प्रधानमन्त्री जंगबहादुरको निर्देशनमा काठमाडौं उपत्यकापछिको व्यवस्थित सहर नेपालगन्जमा बसाइयो । वि.सं. १९१६ मा निर्माण सुरु भइ १९३८ मा सुविधा सम्पन्न तीन सय ६५ कोठी निर्माण गरेर नेपालगन्ज सहर बनेको थियो । त्यसैले यसलाई जंगबहादुरको सपनाको सहर पनि भन्ने गरिन्छ । काठमाडौं, ललितपुर, भक्तपुर, पाल्पा र पोखरापछिको सहर मानिन्छ, नेपालगन्जलाई । तराईको भने पहिलो सहर भएको इतिहासकारको दाबी छ । पश्चिम नेपाल (साबिक मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रका २४ जिल्ला) को शैक्षिक, व्यापारिक, आर्थिक र स्वास्थ्य हब बन्यो । पूर्वाधार विकास खासै फड्को मार्न सकेन । लामो समय स्थिर रह्यो ।
२०१७ सालमा नेपालगन्ज नगर पञ्चायत, २०१९ सालमा नगरपालिका र २०७१ सालदेखि उपमहानगरपालिका बनेको हो । ०६२÷६३ को राजनीतिक परिवर्तनपछि यहाँको विकास निर्माणमा केही फड्को मारेको देखिन्छ । नेपालगन्जको साँघुरो सुर्खेत रोड सिक्स लेनको भएको छ । नगरभरी पक्की सडक र नाला बनेका छन् । पक्की बनाउन नसक्ने सडक पीपीसी गरिएका छन् । जनप्रतिनिधि आएसँगै नेपालकै नमूना सेनेटरी ल्याण्डफिल्ड साइट सन्चालनमा आइसकेको छ । आधुनिक बसपार्कको उद्घाटन भइसक्यो । नेपालकै पहिलो ग्रीन फाइभस्टार होटल सोल्टी, चार तारे डिलक्स होटल सिद्धार्थसहित राजधानीभन्दा बाहिर सबैभन्दा बढी तारे होटल नेपालगन्जमै खुलेका छन् । गद्दी र सडक पेटीमा गरिने यहाँको परम्परागत व्यापार मार्टमा परिणत हुँदैछ । भाट–भटेनी सुपर स्टोर, वेस्टर्न बिजनेश कम्प्लेस, राही मार्टले एकैथलोमा धेरै सामान किन्ने सुविधा दिएका छन् । नगरमा करोडौं लगानीका मिटमार्ट पनि सन्चालनमा छन् । नगर उप–प्रमुख उमा थापा मगरका अनुसार उपमहानगर सफा, सुन्दर र टोल–टोलमा बाटोघाटो पुगेको छ । उनी ‘केही वर्षभित्रै विकास निर्माणले फड्को मारेर नेपालगन्जको मुहार फेरिने’ बताउँछिन् ।

अबको १० वर्षपछि
पश्चिम नेपालको प्रमुख सहर नेपालगन्ज संघीयतामा अन्यायमा प¥यो । प्रदेश ५ को पुछारमा छ । विकासमा धेरै पछाडि धकेलिने धेरैले आँकलन पनि गर्छन् तर अबको एक दशकभित्र यो सहरमा सम्भावना नै सम्भावना देखिन्छ ।
महानगरपालिका
पञ्चायती व्यवस्थामा नगर पञ्चायत (२०१७)हुँदै नगरपालिका (२०१९) बनेको नेपालगन्जलाई उपमहानगर बन्न ५ दशकभन्दा बढी समय कुर्न प¥यो । साबिकका गाविस गाभेर उपमहानगर बन्दा पनि चिल्लो सडकबाहेक ती ठाउँ गाउँ जस्तै छन् । जनतामा आर्थिक, सामाजिक, राजनीतिक रुपमा खासै बद्लाव आएको छैन । उपमहानगरपालिका महानगरको दौडमा छ । प्रदेश ५ मा प्रदेश सरकारले बनाउने तीन महानगरपालिकामध्ये एउटा नेपालगन्ज पनि हो । नगर प्रमुख डा.धवल शम्शेर राणा महानगरको सम्भाव्यता अध्ययन गराउन लागिरहेका छन् । भन्छन्, ‘महानगर भयो भने विकास बजेट कसैसँग हात फैलाउन पर्दैन ।’ ढिलोमा पनि अबको दुई दशकमै नेपालगन्ज महानगर बन्ने सम्भावना नर्कान मिल्दैन ।

भेरी अस्पताल : अत्याधुनिक विशिष्टिकृत अस्पताल
भेरी अस्पतालको इतिहास पनि डेढ सय वर्षभन्दा पूरानो छ । काठमाडौंमा केन्द्रीय अस्पताल वीरकै हाराहारीमा वि.सं. १९२० स्थापना गरिएको हो । साबिक मध्य र सुदूरपश्चिको ठूलो अस्पताल भए पनि भेरी अञ्चल अस्पताल विकासका दृष्टिले पछाडि नै प¥यो । प्रादेशिक हुँदै केही अघि संघीय सरकारको मातहतमा आएर पाँच सय शैयामा विकास हुँदै गरेको भेरी अस्पतालमा आगामी एक दशकभित्र विशिष्टिकृत अत्याधुनिक अस्पताल बन्नेछ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले दाबी गरे, ‘अबको एक दशकमा भेरी अस्पताल एक हजार शैयाको अत्याधुनिक विशिष्टिकृत सेवा दिने अस्पताल बन्छ ।’

नेपालगन्जबाट अन्तर्राष्ट्रिय उडान
नेपालगन्ज विमानस्थल स्थापनाको पनि झन्डै ६ दशक भइसकेको छ । वि.संं.२०१७ सालमा खजुरामा विमानस्थल स्थापना गरियो । २०३० सालमा राँझामा स्थानान्तर गरी २०३७ सालदेखि नियमित उडान हुन थाल्यो । काठमाडौंपछिको सबैभन्दा बढी उडान भर्ने विमानस्थलमा पर्छ । यहाँबाट प्रदेश ५, कर्णाली, सुदूरपश्चिम र काठमाडौंमा उडान हुन्छ । यो विमानस्थललाई नेपाल सरकारले क्षेत्रीय विमानस्थलको रुपमा विकास गरी अन्तर्राष्ट्रिय उडान भर्ने निर्णय गरिसकेको छ । तर भारतबाट एयर रुट नमिल्दा नेपालगन्ज–दिल्ली सिधा उडानमा बाधा पुगेको छ ।

नेपालगन्ज विमानस्थल २० वर्षे गुरुयोजना

नागरिक उड्यन प्राधिकरणले २० वर्षे गुरुयोजना सार्वजनिक गरी नेपालगन्ज विमानस्थलको क्षेत्र दोब्बर विस्तार गर्दैछ । त्यसपछि विमानस्थलबाट ठूला जेट विमान नै उडान भर्न मिल्नेछ । केही महिना अघि राँझा विमानस्थलमा गुरुयोजना सार्वजनिक गर्दै पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भारतले एयर रुट दिने बित्तिकै अन्तर्राष्ट्रिय उडानको तयारी गरिने आश्वासन दिएका थिए ।

नेपालगन्ज विश्वविद्यालय
नेपालगन्ज ०६२÷६३ सम्म पनि साबिक मध्य र सुदूरपश्चिमको शैक्षिक हब नै थियो । ६ दशक अघि (वि.सं. २०१९) स्थापना गरिएको नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस (सुरुमा महेन्द्र डिग्री कलेज) पश्चिमकै ठूलो क्याम्पस थियो । पछि भेरी प्राविधिक शिक्षालयलगायतका प्राविधिक शिक्षालय खुले । हालको मध्यपश्चिम विश्वविद्यालय नेपालगन्जमै खोल्ने तयारी हुँदैथियो । राजनीतिक खिचातानीले सुर्खेतमा स्थापना गरियो । नेपालगन्जमा प्रादेशिक स्तरको विश्वविद्यालयको तयारी भइरहेको छ । विश्वविद्यालय संघर्ष समितिका संयोजक पशुपति दयाल मिश्र भन्छन्, ‘हामीले खजुरामा एक सय विगाह जग्गा खोजिसकेका छौं । अबको केही वर्षभित्रै नेपालगन्ज विश्वविद्यालय बन्नेछ ।’ विश्वविद्यालयका नाममा केही रकम संकलन पनि भएको छ ।

बाँकेको जानकी गाउँपालिकामा रहेको एक उद्योग

औद्योगिक सहर
नेपालगन्जको अर्को पहिचान औद्योगिक सहरको रुपमा पनि छ । झन्डै ५ दशकअघि (२०३०) सालमै नेपालगन्ज औद्योगिक क्षेत्र स्थापना गरिएको थियो । जहाँ तीन दर्जन उद्योगहरु सन्चालनमा छन् । ०७२ सालदेखि बैजनाथ गाउँपालिकाको नौबस्तामा तीन सय ३८ बिगाहा क्षेत्रफलमा प्रदेश स्तरकै औद्योगिक क्षेत्र निर्माणाधीन छ । जयमंगलम सिमेन्ट, जय बागेश्वरी सिमेन्ट उद्योग, जय अम्बे स्टील प्रालि, बागेश्वरी स्टिल एण्ड आइरन उद्योग, सगरमाथा स्टील उद्योग, बाहुबली हर्बल उद्योग, गंगा रोजिन एण्ड टर्पेन्टाइन, पानस फर्मास्यूटिकल्स जस्ता करिव ५ दर्जन बढी उद्योग जानकी गाउँपालिकाको एउटै वडामा छन् । नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापन परियोजना कार्यालयका प्रमुख कृष्णबहादुर पुन भन्छन्, ‘बाँकेको समृद्धिको प्रमुख आधार यो आयोजना बन्न सक्छ ।’